मंगलबार, जेठ ७, २०७६

युरोपा र च्याम्पियन्स लिगको फाइनलमा पहिलो पटक इङलिस क्लबहरू

बेलायती फुटबलले नयाँ इतिहास बनाएको छ । युरोपेली फुटबलको दुई प्रतिष्ठित प्रतिस्पर्धा – युरोपा लिग र च्याम्पियन्स लिगको फाइनलमा चारवटा बेलायती क्लब भिड्दैछन् । यो इतिहासकै पहिलो घटना हो।

आर्सनलले भ्यालेन्सिया र चेल्सीले आयनट्राख्ट फ्राङ्कफर्टलाई जित्दै युरोपा लिगको फाइनल प्रवेश गरेका छन् । आर्सनलले भ्यालेन्सिया विरूद्ध ४–२ को जित हात पार्यो । भ्यालेन्सियाको ‘होम ग्राउन्ड’ मेस्ताल्या रंगशालामा पियर–एमेरिक उबामियोङले ह्याट्रिक गरे।

चेल्सी र आयनट्राख्ट फ्राङकफर्ट विरूद्ध भएको खेल १–१ गोलको बराबरीमा टुङिगयो । ‘पेनाल्टी शुटआउट’मा चेल्सीले जित्यो।

त्यसैगरी, लिभरपुलले बार्सिलोना र टोटनह्यामले अज्याक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाइनल पुगेका छन् । लिभरपुल र बार्सिलोनाको प्रतिस्पर्धाले नाटकिय रूप लियो । बार्साको गढ ‘क्याम्प नोउ’मा भएको पहिलो खेलमा लिभरपुलले ३–० को हार बेहो¥यो । हारको बदला लिदैं ‘होम ग्राउन्ड’ एन्फिल्डमा लिभरपुलले ला लिगा च्याम्पियनलाई ४–० ले हरायो।

टोटेमह्यामले पहिलो खेल अज्याक्ससँग १–० ले हारेको थियो । दोश्रो खेलमा पनि ‘स्पर्स’लाई डच टिमले २–० ले पछि पारेको थियो । तर खेलको ९६औं मिनेटमा ‘ह्याट्रिक’ गोल गर्दै लुकास मोराले टोटेमह्यामलाई योहान क्रोयफ एरिनाको विजेता बनाए।

‘यो मेरो जीवनकै महत्वपूर्ण रात हो । क्लबलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याउनु कुनै चमत्कारभन्दा कम छैन,’ गहभरि आँशु लिएर टोटेमह्यामका म्यानेजर मौरिसियो पोचेतिनोले भने । ‘अल–इङलिस’ फाइनल आश्चर्यजनक हुने उनी बताउँछन् ।

‘म युर्गन क्लोप, सबै खेलाडी र टोटेनह्यामलाई बधाइ दिन चाहन्छु । मेरो विचारमा उनीहरूले गज्जबको खेल खेले । बार्सिलोना विरूद्धको खेल हामीले निकै आनन्द मानेर हेर्यो। उनीहरू पनि हिरो हुन् । दुई बेलायती टिमको फाइनल पनि अद्भुत हुनेमा कुनै शंका छैन ।’

यसअघि दुई ओटा मात्रै ‘अल–इङ्लिस’ फाइनल भएको छ । सन् १९७१–७२ को युइएफए कपको फाइनल खेलमा टोटनह्यामले वुल्भ्सलाई हराएको थियो । त्यसैगरी सन् २००७–०८ को च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइटेडले चेल्सी विरूद्ध जित हात पर्यो ।

सन् २०१५–१६ मा स्पेनका तीन क्लबले युरोपा लिग र च्याम्पियन्स लिगको फाइनल खेलेका थिए । च्याम्पियन्स लिगमा रियाल मड्रिडले एट्लिको मड्रिडलाई र युरोपा लिगको फाइनल सेभियाले जितेको थियो।

‘बेलायती फुटबलको स्तर एकदमै माथि छ । प्रिमियर लिग युरोपकै उत्कृष्ट च्याम्पियनसिप हो,’ चेल्सीका म्यानेजर मौरिज्यो सार्रीले भने।

मे २९ मा हुने युरोपा लिगको अन्तिम खेलमा आर्सनल र चेल्सी बाकु, अजरबैजानमा भिड्दैछन् । ‘गनर्स’का लागि यो खेल महत्वपूर्ण छ । जितसँगै आउने सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने आर्सनल पाँचौं बेलायती क्लब हुनसक्छ । प्रिमियर लिगको शीर्ष चार स्थानमा परेको चेल्सी यसअघि नै सुरक्षित भइसकेको छ।

बाकुको ओलम्पिक स्टेडियमको दर्शक क्षमता ६८ हजार सात सय छ । युइएफएले दुवै कलबका लागि ६–६ हजार टिकट विनियोजन गरेको छ । आर्सनलले युइएफएको यो निर्णयलाई ‘निराशाजनक’ बताएको छ । यसबाट टिकट बाँडफाँड गर्न अत्यधिक कठिनाइ हुने क्लबले जनाएको छ।

जुन १ मा मड्रिडमा हुने च्याम्पियन्स लिगको फाइनलमा टोटेमह्याम र लिभरपुल भिड्नेछन् । दुवै क्लबका फ्यानलाई पनि यात्रामा चुनौति छ । संयुक्त अधिराज्यबाट मड्रिड सिधा उडानको शुल्क एक हजार तीन सय पाउण्ड स्टर्लिङ पुगेको छ । केही ‘एयरलाइन्स’माथि ‘प्रोफिटियरिङ’को आरोप लागेको छ।

प्रिमियर लिग खेल्ने क्लबहरूको सफलताको अर्काे अर्थ छ । अगष्टमा हुने युइएफए सुपर कपमा पनि ‘अल–इङ्लिस’ क्लब नै खेल्नेछन् । युइएफए सुपर कप इस्तानबुल, टर्कीमा खेलिनेछ।

एजेन्सहरुको सहयोगमा

 Published Date: Saturday, 11th May 07:15:25 AM