सोमबार, भदौ ३०, २०७६

युरो कप छनोटः इंग्ल्याण्डद्वारा कोसोवो पराजित

काठमाडौं, भदौ २५ : जाडोन साञ्चोको दुई गोलको मद्दतमा युरो छनोटमा इंग्ल्याण्डले कोसोवोलाई पराजित गरेको छ। 

गएराति भएको खेलमा इंग्ल्याण्डले कोसोवोलाई ५–३ गोल अन्तगरले पराजित गरेको हो। इंग्ल्याण्डको जितमा जाडोन साञ्चोले दुई, रहिम स्टर्लिङ र ह्यारी केन एक–एक गोल गर्दा एक गोल भने इंग्ल्याण्डले उपहार पाएको थियो।

खेलको पहिलो मिनेटमै भालोन बेरिसाले गोल गर्दै कोसोवोलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यो अग्रता ७ मिनेट पनि टिक्न सकेन। खेलको ८ औं मिनेटमा स्टर्लिङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।

खेलको १९ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई २–१ को अग्रता दिलाए। खेलको ३८ औं मिनेटमा कोसोवोका मर्गिमले आत्मघाती गोल गरेपछि इंग्ल्याण्ड ३–१ को अग्रता लिन सफल भयो। 

खेलको ४४ औं मिनेटमा जाडोन साञ्चोले गोल गर्दै इंग्ल्याण्डलाई ४–१ को अग्रता दिलाएका थिए। 

यस्तै, पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै साञ्चोले इंग्ल्याण्डलाई ५–१ को अग्रता दिलाएका थिए।

खेलको ४९ औं मिनेटमा कोसोवोका लागि वेरिसाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५–२ को स्थितिमा झारेका थिए। 

यस्तै, खेलको ५५ औं मिनेटमा कोसोवोले पाएको पेनाल्टीमा बेदत मुरीकीले पेनाल्टीमा गोल गर्दै गोलअन्तर ५–३ मा झारेका थिए। बाँकी समयमा दुबै टोलीका तर्फबाट गोल हुन नसकेपछि इंग्ल्याण्ड ५–३ को जित निकाल्न सफल भयो।

समूह ‘ए’मा रहेको इंग्ल्याण्डले सतप्रतिशत जित निकाल्दै ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ। कोसोवो भने ५ खेलबाट ८ अंक सहित तालिकाको तेस्रो स्थानमा छ।

 Published Date: Wednesday, 11th September 08:05:38 AM