मंगलबार, कात्तिक २६, २०७६

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

काठमाडौं, असोज ११ : नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा काठमाडौंमा शनिबार भएको निर्वाचनबाट चन्द क्यान अध्यक्षमा निर्वाचित भएका हुन्। चन्दले अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई पराजित गरेका हुन्।  चन्दले ४४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पाण्डेले १५ मत प्राप्त गरे।

यस्तै, संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मतका साथ निर्वाचित भए। उनका प्रतिस्पर्धी मिङ्मा डाण्डु शेर्पाले १७ मतमात्रै प्राप्त गरे। यस्तै, सचिवमा चन्द प्यानलकै अशोकनाथ प्याकुरेल निर्वाचित भएका छन्। प्याकुरेलले ४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पाण्डे समूहका विनोद कुमार मैनालीले १५ मत पाए।

कोषाध्यक्षमा चन्द प्यानलकै रोशनकुमार सिंह निर्वाचित भए। सिंहले ४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उपेन्द्र भट्टराईले १२ मत मात्रै पाए। पदाधिकारीमा निर्वाचित सबै चन्द प्यानलकै हुन्। 

यसैगरी, प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त मल्ल, प्रदेश ६ बाट पदम खड्का र प्रदेश ७ बाट विक्रम विष्ट निर्विरोध निर्वाचित भएका छन्। यस्तै, महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भइन्। 

यसैगरी, प्रदेश १ बाट कैलाश विष्ट र प्रदेश ३ बाट अमितवीर पाण्डे निर्वाचित भए।  खुला सदस्यमा दुर्गाराज पाठक (४२), वीरेन्द्रबहादुर चन्द (३६), माधवकुमार कर्माचार्य (३५), सञ्जयराज सिंह (३४) र करण क्षेत्री (३०) मतका साथ निर्वाचित भएका छन्।

निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गरेका थिए। 

 Published Date: Saturday, 28th September 16:03:38 PM