मंगलबार, मंसिर १६, २०७७

एक वर्षपछि सर्‍यो साफ च्याम्पियनसिप

काठमाडौं, असार १६ : १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता १ वर्षपछि सरेको छ। बंगलादेशमा आगामी सेप्टेम्बरका लागि तय भएको प्रतियोगिता कोरोना भाइरसको महमारीका कारण १ वर्षपछि सरेको हो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को सोमबार बसेको भर्चुअल बैठकले साफ च्याम्पियनसिप एक वर्ष सार्दै सन् २०२१को सेप्टेम्बरमा गर्ने निर्णय गरेको हो।

यसैगरी यू–१५ महिला र पुरुष साफ च्याम्पियनसिप, यू–१८ महिला साफ च्याम्पियन्सका विषयामा आगामी सेप्टेम्बरमा बस्ने बैठकले निर्णय गर्ने सोमबारको बैठमा सहमित भएको छ।

बंगलादेशले लगातार दोस्रो पटक साफ च्याम्पियनसिप आयोजनाको अवसर पाएको हो। सन् २०१८ मा भएको १२औं पनि बंगालदेशले नै आयोजना गरेको थियो। सो संस्करणको उपाधि भारतले जितेको थियो। नेपाल भने सेमिफाइलनमै रोकिएको थियो।

साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन। १२ मध्ये ६ संस्करणको सेमिफाइनलमा पुगे पनि नेपाल त्यसभन्दा अघि बढ्न सकेको छैन। भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ। यस्तै, माल्दिभ्सले २ र बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक उपाधि जितेका छन्। नेपालसहित भुटान र पाकिस्तान उपाधिविहीन छन्। 

 Published Date: Tuesday, 30th June 2020 6:58:25 am