बुधबार, असोज १४, २०७७

म्यान्चेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाईनलमा 

काठमाडौं, साउन २४ :  रियल मड्रिडलाई पराजित गर्दै म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस महारथी रियललाई २–१ गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो । घरेलु मैदान ईतिहाद स्टेडियममा शुक्रबार राति भएको खेलमा सिटीले सहज जीत निकाल्यो ।

उसले समग्रमा ४–२ को नतिजासहित सिटी क्वार्टरफाईनल प्रवेश गरेको हो ।रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो । ईतिहादमा भएको दोस्रो लेगमा रियल मड्रिडको कमजोर डिफेन्सको फाईदा उठाउँदै सिटीले सहज जित निकाल्यो । खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए । तर, दोस्रो हाफमा समेत रियलको डिफेन्सको कमजोरी यथावत रह्यो । राफेल भारानेको गल्तीमा ग्याब्रियल जिससले ६८औँ मिनेटमा गोल गर्दै सिटीलाई दोस्रो लेगमा पनि २–१ को जित दिलाए । 

 Published Date: Saturday, 8th August 2020 2:14:40 am