शुक्रबार, असोज ९, २०७७

लिजेन्ड गोलकिपर कासिलासले लिए सन्यास 

फाइल

काठमाडाैं, साउन २० :  लिजेन्ड गोलकिपर इकर कासिलासले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन्। स्पेन तथा रियल मड्रिडका लिजेन्ड कासिलासले मंगलबार २२ वर्ष लामो खेल जीवन अन्त्यको घोषणा गरेका हुन्।

कासिलाले मंगलबार ट्विटरमार्फत सन्यासको घोषणा गरेका हुन्। कासिलासले लेखेका छन्, ‘सबैभन्दा महत्वपूर्ण यात्रा गर्ने बाटो र तपाईंका साथ रहने मानिस हुन्। मलाई लाग्छ, म कुनै हिचकिचाहटविना भन्न सक्छु- यही सही बाटो र सपनाको लक्ष्य हो। मेरो यात्राका सहयात्री तथा सबै सहकर्मीमा धेरै-धेरै धन्यवाद!’

रियल मड्रिडबाट व्यवसायिक फुटबलको सुरुवात गरेका कासिलासले करिअर अन्त्य पोर्चुगिज क्लब एफसी पोर्टोबाट गरे। उनी सन् २०१५ मा रियल छाड्दै पोर्टोमा आबद्ध भएका थिए। सन् २०१९ को मेमा हृदयघात भएपछि उनले पोर्टो छाडेका थिए। तर पछि उनी फेरि पोर्टो फर्किए पनि कुनै खेल खेलेनन्। 

कासिलास स्पेनिस फुटबल संघको अध्यक्ष बन्ने सोचमा थिए। उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा पनि गरेका थिए। तर, हृदयघातपछि चिकित्सकको सल्लाहमा उनले उम्मेदवारी नदिने भएका छन्। 

कासिलासले रियलमा सन् १९९९ देखि २०१५ सम्म १६ वर्ष खेलेका थिए। कासिलासले रियलबाट ७२५ खेल खेलेका छन्। रियलका कप्तानको जिम्मेवारी समेत सम्हालेका कासिलासले १९ उपाधि जितेका छन्। जसमा पाँच ला लिगा, तीन च्याम्पियन्स लिग, दुई युइएफए सुपर कप सामेल छन्। 

सन् २००० मा स्पेनिस राष्ट्रिय टिममा डेब्यू गरेका कासिलासले सन् २०१६ मा स्पेनिस टिम छाडेका थिए। कासिलासकै कप्तानीमा स्पेनले सन् २०१० को विश्वकप,  सन् २००८ र २०१२ युरोपक उपाधि जितेको थियो। उनले राष्ट्रिय टिमबाट १६७ खेल खेलका छन्।

 Published Date: Tuesday, 4th August 2020 1:30:25 pm