आईतबार, फागुन ११, २०७६

अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कंदै ब्राभो, भन्छन्– पुनः बच्चा जस्तै महसुस गरिरहेको छु

ड्वायन ब्राभो।

काठमाडौं, माघ १ : वेस्टइन्डिजका स्टार क्रिकेटर ड्वायन ब्राभो तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदै छन्।

सन् २०१९ डिसेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका ब्राभोले भर्खरै मात्र सन्यास फिर्ता लिएका थिए। उनले यसैवर्ष अस्ट्रेलियामा हुने टि–२० विश्वकपका लागि आफ्नो निर्णय पुनर्विचार गरेको बताएका छन्।

ब्राभोले सन् २०१६ सेप्टेम्बरमा पाकिस्तानविरुद्ध खेलेयता वेस्टइन्डिजबाट खेलेका छैनन्। सन्यास फिर्ता लगत्तै वेस्टइन्डिज क्रिकेट बोर्डले ब्राभोलाई आयरल्यान्ड भ्रमणका लागि टिममा बोलाएको छन्।

एकदिवसीय र टी–२० सिरिजका लागि आयरल्यान्ड पुगेको वेस्टइन्डिजले टी–२० सिरिजमा ब्राभोलाई पनि टिममा राखेको छ। आयरल्यान्डमा वेस्टइन्डिजले तीन टी–२० खेल खेल्ने छन्। टी–२० सिरिज जनवरी १५ बाट सुरू हुदै छ।

ट्रिनडाडको एक रेडियोसँग कुरा गर्दै बाभ्रोले पुनः राष्ट्रिय टिममा बोलाउँदा आफूलाई पुनः बच्चाजस्तो महसुस भएको बताएका छन्। ‘जब प्रमुख चयनकर्ता रोजर हार्परले मलाई राष्ट्रिय टिमका लागि बोलाए, तब मैले पुनः बच्चाजस्तो महसुस गर्न थालेँ,’ ब्राभोले भने, ‘यो एउटा यस्तो मौका हो, जुन मेरो मानसपटमा सधैं रहिरहने छ। वेस्टइन्डिजका लागि फेरि खेल्न पाउँदा म एकदमै खुसी छु। र, म उत्कृष्ट प्रदर्शनका लागि उत्साहित छु।’

अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि ब्राभोले फ्रेन्चाइज क्रिकेटमा खेलिरहेका छन्। गतवर्ष क्यारेबियन प्रिमियर लिगका क्रममा औंलामा चोट लागेपछि उनी दुबईमा भएको टि–१० लिगमार्फत क्रिकेटमा फर्किएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किए पनि आफ्नो फिटनेसलाई लिएर भने चिन्तित छन्।

‘अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको छु, यो मेरा लागि महत्वपूर्ण हो। फिटनेशलाई लिएर भने चिन्तित छु,’ ब्राभोले भने, ‘गत तीन वर्षमा धेरै क्रिकेट खेल्न पाइनँ। यसले फिटनेशमा केही समस्या देखिएको छ। फिटनेश सुधारका लागि अभ्यास सुरू गरिसकेको छु। म पुनः पहिलाकै स्तरमा पुग्न गर्नेछु र देशका लागि पुनः उत्कृट योगदान दिनेछु।’

३६ वर्षीय अलराउन्डर ब्राभोले वेस्टइन्डिजका लागि ४० टेस्ट, १६६ एकदिवसीय र ६६ टी–२० म्याच खेलेका छन्। जसमा उनले टेस्टमा तीन शतक र १३ अर्धशतकसहित २२ सय रन बनाएका छन् भने ८६ विकेट लिएका छन्।

एकदिवसीयमा उनले एक शतक र १० अर्धशक प्रहार गर्दै दुई हजार नौ सय ६८ रन बनाउनुका साथै १९९ विकेट पनि लिएका छन्। टी–२० ब्राभोले  एक हजार एक सय ४२ रन बनाउनुका साथै ५२ विकेट लिएका छन्।

टी–२० क्रिकेटमा डेथ ओभरको बलिङमा ब्राभो उत्कृष्ट मानिन्छन्। उनी बलिङमा गति परितर्वन गर्न र स्लो बलका लागि प्रख्यात छन्।

 

 Published Date: Wednesday, 15th January 15:30:44 PM