आईतबार, फागुन ११, २०७६

बिसिसिआईको कंट्रयाक्टमा परेनन् ‘लिजेन्ड’ क्रिकेटर धोनी

काठमाडौं, माघ २ : भारतका ‘लिजेन्ड’ क्रिकेटर महेन्द्रसिंह धोनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को कंट्रयाक्टबाट बाहिरिएका छन्। ६ महिनादेखि भारतीय क्रिकेट टिममा नरहेका धोनीलाई बाहिर राख्दै बिसिसिआईले बिहीबार खेलाडी कंट्रयाक्ट सूची सर्वाजनिक गरेको छ। 

बिसिसिआईको कंट्रयाक्ट सूचीबाट बाहिरिएसँगै विस्फोटक विकेटकिपर ब्याट्सम्यान धोनीको अन्तर्राष्ट्रिय क्रिकेट करिअर लगभग सकिएको अनुमान गरिएको छ । गत वर्ष बेलायतमा भएको एक दिवसीय  विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएपछि भारतीय टिमबाट बाहिर रहेका धानीको पुनरागमन निकै कठिन बनेको छ। 

६ महिनादेखि टिमबाट बाहिर रहेको र आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरका बारेमा धोनीले स्पष्ट धारण बनाइनसकेकाले उनलाई कंट्रयाक्ट लिस्टबाट बाहिर राखिएको बिसिसिआईले जनाएको छ। 

भारतीय टिमका मुख्य प्रशिक्षक रवि शास्त्रीले केही दिनअघि मात्रै धोनीले आसन्न टी–२० विश्वकप खेल्ने चाहेको बताएका थिए । शास्त्रीले ‘धोनी एकदिवसीय क्रिकेटबाट सन्यास लिँदै टी–२० क्रिकेटमा मात्र फोकस हुन चाहेको’ बताएका छन् । तर, बिसिसिआईको कंट्रयाक्टबाट बाहिरिएसँगै धोनीको टी–२० विश्वकप खेल्ने चाहना पनि तुहिने सम्भावना बढेको छ ।  

धोनीसँगै बिसिसिआईले बिहीबार सार्वजनिक गरेको कंट्रयाक्ट सूचीबाट ३ खेलाडी बाहिरिएका छन् भने ५ नयाँ खेलाडी सूचीमा थपिएका छन् । कंट्रयाक्टबाट बाहिरिनेमा धोनीसँगै विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिक र अम्बाती रायाडु छन् । 

कंट्रयाक्ट सूचीमा थपिने खेलाडीमा दीपक चाहर, श्रेयस ऐयर, शार्दुल ठाकुर, नवदीप सैनी र मयंक अग्रवाल छन् । जसमा यो वर्ष टेस्टमा भारतका लागि सर्वाधिक रन बनाएका मयंक बी ग्रेडमा परेमा छन् भने चहर, ऐयर, ठाकुर र सैनी सी ग्रेडमा छन् । 

प्रत्येक वर्ष राष्ट्रिय टिमबाट खेलका खेलाडीहरुलाई ४ श्रेणीमा विभाजन गर्दै बिसिसिआईले खेलाडीलाई तलब दिने गर्छ । बिसिसिआईले बिहीबार सार्वजनिक गरेको कंट्रयाक्ट सूचीमा २७ खेलाडी परेका छन् । ए प्लस श्रेण्ीमा कप्तान विराट कोहली, रोहित शर्मा र जस्प्रित बुमराह छन् । यस्तै, ए श्रेणीमा ११ खेलाडी छन् भने बीमा ५ र सीमा ७ खेलाडी छन् ।

ए प्लस श्रेणीका खेलाडीले वार्षिक ७ करोड भारतीय रुपैयाा पाउने छन् भने ए श्रेणीका खेलाडीले ५ करोड, बीकाले ३ करोड र सी श्रेणीका खेलाडीले १ करोड भारतीय रुपेयाँ पाउने छन् । 


 

 Published Date: Thursday, 16th January 19:07:11 PM