बुधबार, असार ३१, २०७७

मुख्य प्रतिरोध क्षेत्रको सामना गर्दै शेयर बजार 

काठमाडौं, माघ २० : नेप्से परिसूचक २ दशमलव ४९ अंक अर्थात ० दशमलव १८ प्रतिशतलले बढेर १३४९ दशमलव १३ को विन्दुमा बन्द भएको छ। हाइड्रोपावर उपसूचकमा सर्वाधिक ४ दशमलव ८२ प्रतिशतको वृद्धि रहेको छ। 

१३४७ दशमलव ८४ को विन्दुमा खुलेको दोस्रो बजार १३५५ दशमलव २८ को उच्च विन्दुसम्म पुगेको थियो। सोमबार बजारको न्यून विन्दु १३३९ दशमलव ६१ रहँदा दिनभरमा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेको इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेको इन्स्योरेन्सको ६ करोड ५६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज गरिमा विकास बैंकका शेयरधनीले सर्वाधिक ९ दशमलव ३६ प्रतिशतले कमाए भने मल्टिपर्पाेज फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव २३ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

दुई कारोबार दिनअघि गरिएको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १३३३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने देखिन्छ र पुन १३५० देखि १३६० को मुख्य प्रतिरोधलाई सामना गर्नु पर्ने देखिन्छ भनिएको थियो। हिजो र आजको बजार प्रवृत्तिले यही प्रतिरोध क्षेत्रलाई सामना गरिरहेको देखिन्छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारले १२७४ मा टेवा प्राप्त गरी सकारात्मक रहेको र हाल मुख्य प्रतिरोध १३६० को क्षेत्रलाई सामना गरिरहेको देखिन्छ। आज बजारले डोजी मैनबत्ती आकृति बनाएको छ। यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। विगत केही हप्तादेखिको कारोबार रकम अनुसार आज कारोबार रकम सामान्य रहेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको छ। 

बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५८ दशमलव ०७ अंकमा रहेको छ। आरएसआईको प्रवृत्तिले बजारमा क्रेताको चाप हुन सक्ने संकेत गरे पनि स्टोकास्टिक अक्सिलेटर सकारात्मक देखिँदैन।  

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरे पनि समग्र रुपमा हेर्दा यदि बजार १३६० भन्दा माथि स्थिर रहेमा बजार अझ  सकारात्मक हुन सक्ने संकेत गर्दछ। त्यस्तै, यदि बजार १३४० भन्दा तल स्थिर रहेका बजार केही सच्चिन सक्ने संकेत गर्दछ। 
 

 Published Date: Monday, 3rd February 17:57:26 PM