बिहीबार, असार १८, २०७७

शेयर बजार थप सकारात्मक संकेत, अब के होला?

काठमाडौं, फागुन ८ : साताको अन्तिम कारोबार दिन शेयर बजारमा २ अर्ब ७८ करोड ५० लाख बराबरको शेयर किनबेच भएको छ। 

यो हालसम्मकै उच्च कारोबार रकम हो। बिहीबार नेप्सेको खुला विन्दु र बन्द विन्दु क्रमशः १४०५ दशमलव ५१ र १४३४ दशमलव ५७ विन्दु रहेको छ। यी विन्दु नै कारोबारको न्यून र उच्च विन्दु रहे। यसले बजार खुलेदेखि अन्तिम समयसम्म क्रेताको चाप रहेकाले अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

कारोबार रकम पनि बढेकाले शेयर बजारमा खरिदकर्ताको चाप बढेको संकेत देखिएको छ। नेप्से परिसूचक २९ दशमलव ३२ अंकले अर्थात २ दशमलव ०९ प्रतिशतले बढेर १४३४ दशमलव ५७ को विन्दुमा बन्द भएको छ। सर्वाधिक वृद्धि हुनेमा लघुवित्त, निर्जीवन बीमा र जीवन बीमा उपसूचकहरु रहेका छन्। यिनीहरुमा क्रमशः ६ दशमलव ३५, ५ दशमलव ५५ र ४ दशमलव ७६ प्रतिशतको वृद्धि रहेको छ। बैंकिङ्ग समूह भने ० दशमलव ६६ प्रतिशतले बढेको छ। 

बजारको अवस्था  

सर्वाधिक कारोबार हुने 
सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको १७ करोड २ लाख बराबरको शेयर किनबेच भएको छ। 

सर्वाधिक कमाउने र गुमाउने 
आज बोटलर्स नेपाल (तराई) का शेयरधनीले सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले कमाए भने राधी विद्युत कम्पनीका शेयरधनीले सर्वाधिक ४ दशमलव ४० प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार बजार सकारात्मक हुन खोजेको देखिएको र यदि बजार १४०७ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १४१७ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारले १४०७ र १४१७ को दुवै प्रतिरोधलाई तोडेको छ र बजार सकारात्मक रहेको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले ‘बुलिस मारुबोजु’ आकृति बनाएको छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गर्नुका साथै अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने प्रवल संकेत गर्दछ। आजको परिमाणले मैनबत्तीलाई समर्थन गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, तीन दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दुई दिन प्रवृत्तिहीन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ८२ दशमलव ११ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्रमा हेर्दा बजार सकारात्मक देखिनुका साथै बजारले अब १४४० देखि १४६० को प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ। त्यस्तै, यदि बजार १४२१ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ। 
 

 Published Date: Thursday, 20th February 19:20:43 PM