मंगलबार, कात्तिक २६, २०७६

शेयर लगानीकर्ता अन्योलमा

काठमाडौं, भदौ १९ : नेप्से परिसूचक ३ दशमलव ७० अंकले घटेर बिहीबार ११९१ दशमलव ०७ को विन्दुमा पुगेको छ।

११९५ दशमलव ८९  को विन्दुमा खुलेको दोस्रो बजार ११९७ दशमलव २३ को उच्च विन्दुसम्म पुगेको थियो। दोस्रो बजार परिसूचकमा ० दशमलव ३१ प्रतिशतकोे गिरावट देखिएको छ।

आज बजारको न्यून विन्दु ११८८ दशमलव ८९ थियो। आज २९ करोड ०१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजार  अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ५१ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज आँधिखोला लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ७८ प्रतिशतले कमाए भने अरुण कावेली पावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ९१ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिन अघिको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १२०० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने र यदि बजार ११९० भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजारले निश्चित रुपमा कुनै पनि क्षेत्रलाई तोड्न असफल रह्यो। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो प्रवृत्तिमा रहेको र चित्रमा देखाए बमोजिम बजार अहिले माथिल्लो प्रवृत्ति रेखाको प्रतिरोध क्षेत्रमा रहेको छ। आजको मैनबत्तीले स्पिनिङ्ग टपको आकृति बनाएको छ। यसले हाल बढ्दो प्रवृत्तिमा रहेको बजार परिवर्तन हुन सक्ने संकेत गर्दछ। परिमाणले आजको मैनबत्तीलाई समर्थन गरेको देखिँदैन।  

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा भएको बजार आज प्रवृत्तिहीन रहेको संकेत गरेको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योलमा रहेको देखाउँछ।

आज बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। आज रिलेटिभ स्ट्रेन्थ  इन्डेक्स (आरएसआई) ३९ दशमलव ४० अंकमा रहेको छ। आरएसआईको प्रवृत्ति हालसम्म सकारात्मक देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुको आधारमा अघिल्लो दिनको निष्कर्ष अनुरुप नै रहेको देखिन्छ। यदि बजार १२०० भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने र केही समयका लागि बजार बढ्दो प्रवृत्तिमा हुन सक्ने प्रवल संकेत गर्दछ। 

त्यस्तै, यदि बजार ११९० भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन सामान्य टेवा ११८३ मा रहेको देखिन्छ।  
 

 Published Date: Thursday, 5th September 18:38:32 PM