बुधबार, मंसिर २५, २०७६

आज शेयर बजारमा उतारचढाव 

काठमाडौं, असार ३१ : प्रि-ओपन कारोबारका कारण बजार खुल्नासाथ ३० दशमलव ९४ अंकले वृद्धि भएर मंगलबार शेयर बजारले १२८५ दशमलव ५० को उच्च विन्दु बनाएको थियो। त्यसपछि लगत्तै बजार पुनः सच्चिएको थियो। 

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४ दशमलव ४५ अंकले  वृद्धि हुँदै १२५९ दशमलव ०१ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ३५ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२५४ दशमलव ५६ को विन्दुमा खुलेको थियो भने न्यून विन्दु पनि सोही अंकमा रहेको थियो। 

आज ३४ करोड ७२ लाख बराबरको शेयर किनबेच भएको छ।  

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोवार हुने 
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक  लिमिटेडको ५ करोड ७८ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज नविल इक्वीटी फण्डले सर्वाधिक ९ दशमलव १२ प्रतिशतले कमाए भने आँखु खोला जलविद्युत कम्पनीका शेयरधनीले सर्वाधिक ४ दशमलव १६ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, यदि बजार १२५५ भन्दा माथि स्थिर रहन सके बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। तत्कालीन प्रतिरोध १२६५ को क्षेत्रमा रहेको भनिएको थियो। आज बजार खुल्नासाथ १२८५ दशमलव ५० अंकको उच्च विन्दु बनाउन सफल भएपनि नेप्से परिसूचक १२५९  दशमलव ०१ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति बमोजिम विगत केही कारोबार दिनदेखि प्रवृत्तिहीन रहेको बजार सकारात्मक हुन खोजेको देखिन्छ। अन्तिम दिनको मैनबत्तीले सुटिङ्ग स्टार आकृति बनाएपनि परिमाणको कारण यो आकृति प्रभावकारी देखिँदैन।  

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

 

चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीको प्रवृत्तिलाई लिइएको छ। आज प्रि-ओपनको कारण बजार बढे पनि त्यसपछि बजार सच्चिएको छ। 

आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४८ दशमलव ०३ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको पछिल्लो समयमा क्रेताको चाप केही मात्रामा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी खरिद भएको र बजार केही सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकले मिश्रित संकेत गरे पनि हाल बजार सकारात्मक क्षेत्रमा रहेको र तत्कालीन प्रतिरोध १२६५ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२४४ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२३७ मा रहेको देखिन्छ। 
 

 Published Date: Tuesday, 16th July 18:24:10 PM