सोमबार, मंसिर २३, २०७६

बजार ‘इन्ट्राडे हाई’ मा बन्द, अब के होला?

काठमाडौं, मंसिर ११ : नेप्से परिसूचक ८ दशमलव ३० ले बढेर बुधबार १११७ दशमलव ४६ को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजारमा ० दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ। ११०९ दशमलव १० को विन्दुमा खुलेको दोस्रो बजार १११७ दशमलव ४६ को उच्च विन्दुसम्म पुगेको थियो।

बजारको अन्तिम विन्दु र उच्च विन्दु एउटै भएकाले खरिदकर्ताको उपस्थिति राम्रो देखिएको छ। यसले बजारको पहिलो समयमा खरिदकर्ता नै आक्रामक हुने सम्भावना देखिन्छ। 

बजारको न्यून विन्दु ११०८ दशमलव ०२ रहँदा दिनभरमा २१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजार अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एनएमबी बैंकको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको २ करोड ७५ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज रिडी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ६ दशमलव ९२ प्रतिशतले गुमाए।


लाभांश गतिविधि 

रिडी हाइड्रोपावरले लाभांश प्रस्ताव गरेको छ। कम्पनीले ५ दशमलव २६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। कम्पनीले पुस ४ गते वार्षिक साधारण सभा गर्दैछ।  सो साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्दैछ। मंसिर १८ गतेसम्म कायम शेयरधनीले बोनस प्राप्त गर्नुका साथै साधारण सभामा भाग लिन पाउने छन्।

छोटो समयावधिको प्राविधिक विश्लेषण  

अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार यदि बजार १११३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजारले यो सामान्य प्रतिरोध क्षेत्रलाई तोडेवापत छोटो समायवधिको प्रवृत्ति सकारात्मक देखिएको छ। आज बजार १११७ दशमलव ४६ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति 


चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार आज बजारले ११०० को  क्षेत्रमा टेवा प्राप्त गरेको छ। बजारले ‘बुलिस मारुबोजु’ आकृतिको मैनबत्ती बनाएको छ। यसले अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको परिमाणले भने मैनबत्तीलाई समर्थन गरेको देखिँदैन। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति


 

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन प्रवृत्तिहीन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ।

आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले ‘गोल्डन क्रस’ बनाए पछि हालसम्म बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ८० दशमलव ६१ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरे पनि बजार सच्चिहाल्ने संकेत हालसम्म दिएको देखिँदैन।  

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकका  आधारमा बजार सकारात्मक रहेको र तत्कालीन प्रतिरोध ११२० देखि ११३० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको तत्कालीन सामान्य टेवा ११०७ को क्षेत्रमा रहेको देखिन्छ। 

 Published Date: Wednesday, 27th November 17:21:31 PM