मंगलबार, भदौ ३, २०७६

प्रतिरोधलाई तोड्न नसक्दा शेयर बजार घट्दो प्रवृत्तिमा

काठमाडौं, साउन २३ : बिहीबार नेप्से परिसूचक ९ दशमलव ९२ ले घटेर १२३८ दशमलव ५६ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव ७९ प्रतिशतकोे गिरावट देखिएको छ। १२४८ दशमलव ४९ को विन्दुमा खुलेको दोस्रो बजार १२४९ दशमलव ११ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२३७ दशमलव ३१ थियो भने ४५ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। घट्दो प्रवृत्तिमा कारोबार बढ्नु सकारात्मक संकेतका रुपमा लिइँदैन।

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १२३७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने भनिएको थियो। आज बजार यो टेवा क्षेत्रभन्दा माथि १२३८ दशमलव ५६ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार एक महिना अघि बढ्दो प्रवृत्तिमा रहेको बजार हाल सच्चिएर टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले वियरिस मारुबोजु आकृति बनाएको छ, यसले अर्को कारोबार दिन पनि बजार घट्न सक्ने संकेत गर्दछ। आजको परिमाणले बजारमा विक्रेता हाबी रहेको संकेत गर्नुका साथै अन्तिम मैनबत्तीलाई समर्थन गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीको प्रवृत्तिलाई लिइएको छ। १२५० को प्रतिरोधलाई तोड्न असफल रहेकोले आज बजार घट्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले डेड क्रस बनाएको छ, यसले बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३१ दशमलव ६० अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको र बजार घट्दो प्रवृत्तिमा रहेको छ। समग्रमा हेर्दा, यदि बजार १२५० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालीन प्रतिरोध १२५६ मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२३७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। 
 

 Published Date: Thursday, 8th August 18:24:00 PM