सोमबार, असार २२, २०७७

शेयर बजारमा सस्तिँदै कम्पनीको मूल्य, अब के होला ?

काठमाडौं, फागुन २२ : नेप्से परिसूचक ५ दशमलव ५० अंकले घटेर भएर १४३५ दशमलव ७० को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार ० दशमलव ३८ प्रतिशतले घटेकोे छ। १४४२ दशमलव ९३ को विन्दुमा खुलेको दोस्रो बजार १४६४ दशमलव ६३ को उच्च विन्दुसम्म पुगेको थियो। 

साताको अन्तिम कारोबार दिन बिहीबार बजारको न्यून विन्दु १४०८ दशमलव ४४ थियो भने दिनभरमा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३७ करोड ८७ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज मन्जुश्री फाइनान्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ७० प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको र विगत पाँच कारोबार दिनदेखि बजार सच्चिरहेको देखिन्छ। हाल बजार १३५० देखि १४०० को टेवा क्षेत्र नजिक रहेको देखिन्छ। सामान्य भाषामा भन्दा यो क्षेत्रमा शेयरको मूल्य सस्तो हुने भएकाले खरिदकर्ताको चाप हुन सक्ने सम्भावना रहन्छ।

आजको मैनबत्तीले ‘स्पिनिङ्ग टप’को आकृति बनाएको छ। यसले बजारको प्रवृति परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई हेर्नु पर्ने हुन्छ। आजको परिमाण सामान्य रहेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको देखिन्छ। यसले बजारमा लगानीकर्ताहरु आज अन्योल अवस्थामा रहेको संकेत गर्दछ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४३ दशमलव ७४ अंकमा रहेको छ। यसको प्रवृत्ति हाल सामान्य रहेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गरेको छ। 
निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा यदि बजार १४६५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १५०० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १४०८ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन मुख्य टेवा १३५० को क्षेत्रमा रहेको देखिन्छ। 
 

 Published Date: Thursday, 5th March 18:15:16 PM