सोमबार, मंसिर २३, २०७६

शेयर बजारमा क्रेता र विक्रेता दुवै हाबी

काठमाडौं, साउन २ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २ दशमलव ३७ ले  घट्दै १२७२ दशमलव ४९ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव १९ प्रतिशतकोे गिरावट देखिएको छ। 

दोस्रो बजार १२७४ दशमलव ८६ को विन्दुमा खुलेको थियो भने १२८३ दशमलव ६३ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२७२ दशमलव ४२ थियो। आज ४१ करोड १३ लाख बराबरको शेयर किनबेच भएको छ।  

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै छिमेक लघुवित्तको संस्थापक शेयर किनबेच भएको छ। छिमेक लघुवित्तको ५ करोड १७ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले सर्वाधिक ९ दशमलव २४ प्रतिशतले कमाए भने मेरो माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ६ दशमलव ८१ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण 
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, बजारको तत्कालीन मुख्य प्रतिरोध १२९० देखि १३०० को क्षेत्रमा रहेको भनिएको थियो। आज भने बजारले १२८३ दशमलव ६३ मा प्रतिरोध सामना गरी बजार सच्चिएको छ। नेप्से परिसूचक १२७२ दशमलव ४९ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्तिले बजार सकारात्मक हुँदै गएको संकेत गरे पनि आजको मैनबत्तीले सुटिङ्ग स्टारको आकृति बनाएको छ। यो आकृतिले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गर्दछ र अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। आजको परिमाणले बजारमा क्रेता र विक्रेता दुबैको चाप रहेको संकेत गरेको छ। 
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजोदेखि बढ्दो प्रवृत्तिमा रहेको बजार सच्चिन थालेको छ। बजारको प्रवृत्ति २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) भन्दा मुनी र यी ईएमएहरु एकआपसमा नजिकिँदै गएकाले बजारमा क्रेताको चाप कम हुँदै गएको संकेत गरेको छ।

आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २१ दशमलव ६२ अंकमा रहेको छ। यसको प्रवृत्तिले र स्टोकास्टिक अक्सिलेटरले शेयर बढी विक्री भएको संकेत गरे पनि बजार सकारात्मक भई हाल्ने संकेत भने गरेको देखिँदैन।

निष्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा  यदि बजार १२६६ भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ र हालको तत्कालीन प्रतिरोध १२८४ मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२६६ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालीन सामान्य टेवा १२५६ मा रहेको देखिन्छ। 

 Published Date: Thursday, 18th July 19:18:51 PM