मंगलबार, जेठ ७, २०७६

कारोबार खुलेदेखि नै आज शेयर बजार सकारात्मक, के होला अब?

काठमाडौं, वैशाख ३० : बजार खुलेदेखि नै सकारात्मक प्रवृत्तिमा थियो र अन्तिम समयमा खरिदकर्ताको निकै राम्रो उपस्थिति हुँदा बजार सोमबार उच्च विन्दुमा नै बन्द भएको छ। जसलाई प्राविधिक भाषामा ‘इण्ट्राडे हाई’ पनि भनिन्छ।

‘इण्ट्राडे हाई’ले अर्को दिनको पहिलो घण्टामा बजार सकारात्मक प्रवृत्तिमा हुने देखाउँछ। साताका दोस्रोे कारोबार दिन सोमबार नेप्से परिसूचक ६ दशमलव ३० ले वृद्धि भएर १३०१ दशमलव ३४ को विन्दुमा पुगेको छ। आज दोस्रो बजार परिसूचकमा ० दशमलव ४९ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२९५ दशमलव ०३ को विन्दुमा खुलेको थियो भने १३०१ दशमलव ७८ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२९५ दशमलव ०३ थियो। आज दिनभरमा ७८  करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। धेरै पछि हाइड्रो पावर उपसूचकमा सर्वाधिक वृद्धि देखिएको छ।

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको ११ करोड ४६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज शिवम् सिमेन्टका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले कमाए भने हिमालयन डिष्ट्रिलरीका शेयरधनीले सर्वाधिक ६ दशमलव ०७ प्रतिशतले गुमाए। केही  समयदेखि शिवम सिमेन्टमा लगानीकर्ताको निकै धेरै चासो देखिएको छ।


प्राथमिक बजार गतिविधि 
–जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्तको शुक्रबारबाट सुरु भएको आइपीओे वैशाख ३१ गते बन्द हुनेछ।


प्राविधिक विश्लेषण 
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्तिले अझै पनि लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको देखाएको छ। नेप्सेको प्रवृत्ति तल्लो प्रवृत्ति रेखाभन्दा माथि रहेकाले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको जनाउँछ। हिजोको मैनबत्तीको हतौडा आकृति र परिमाणले यो आकृतिलाई समर्थन गरेकाले बजार आज केही सकारात्मक देखिएको छ। आजको मैनबत्तीलाई मात्र हेर्ने हो भने बजारमा क्रेताको चाप रहेको देखिन्छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्षमा यदि बजार माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने भनिएको थियो।

तर, आज बजारले यही क्षेत्रलाई परीक्षण गरिरहेको देखिन्छ। हिजो २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले गोल्डन क्रस बनाएको थियो भने त्यही अनुरुप आज बजार सकारात्मक भएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६३ दशमलव ५८ अंकमा रहेको छ। यसको प्रवृत्तिले आज बजार सामान्य देखिएको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरे पनि बजार सच्चि हाल्ने देखिँदैन।

निष्कर्ष 

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा, चित्र नं. १ मा देखिए बमोजिम यदि बजार माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्दछ। बजारको तत्कालीन सामान्य टेवा १२९४ देखि १२९६ को क्षेत्रमा रहेको देखिन्छ। 

 Published Date: Monday, 13th May 19:00:57 PM