मंगलबार, असोज १३, २०७७

आज पनि शेयर बजारमा विक्रेता हाबी, नेप्से १३०० विन्दुभन्दा तल

काठमाडौं, जेठ २० : आजको बजारको न्यून विन्दु १२९१ दशमलव ०२ को थियो भने बजार त्यो विन्दुभन्दा थोरै माथि मात्र बन्द भयो।  बजार लगभग ‘इन्ट्राडे लो’ मा बन्द भएको छ। अर्को दिनका लागि  ‘इन्ट्राडे लो’ लाई त्यति सकारात्मक प्रवृत्ति मानिँदैन। आज बजार खुलेदेखि नै निरन्तर घटेको थियो।

सुरुको १५ मिनेट बजारले केही माथिल्लो दिशा समात्न खोजे पनि त्यसपछि भने निरन्तर घटेको थियो। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२ दशमलव ८४ अंकले घटेर १२९२ दशमलव ८४ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ९८ प्रतिशतकोे गिरावट देखिएको छ। 

दोस्रो बजार १३०५ दशमलव ६८ को विन्दुमा खुलेको थियो भने १३०८ दशमलव ६३ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२९१ दशमलव ०२ थियो। दिनभरमा ६९ करोड ८७ लाखको शेयर किनबेच भएको छ। कारोबार रकम आइतबारभन्दा घटेको छ।

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको शेयर किनबेच भएको छ। एनआईसी एसिया बैंकको ९ करोड ६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज तारागाउँ रिजेन्सी होटल्सका शेयरधनीले सर्वाधिक ७ दशमलव ५० प्रतिशतले कमाए भने पाँचथर पावरका शेयरधनीले सर्वाधिक ९ दशमलव ५२ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार १३०० भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने र अर्को तत्कालीन टेवा १२८५ मा रहेको भनिएको थियो। आज बजार १३०० को मनोवैज्ञानिक टेवा क्षेत्रभन्दा तल रहेकाले बजार त्यति सकारात्मक मानिँदैन।  आज बजार १२९२ दशमलव ८४ अंकमा बन्द भएको छ।

चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति


 
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम बजार लगभग एक महिनादेखि प्रवृत्तिहीन रहेको देखिन्छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। हिजोजस्तै आजको मैनबत्तीले पनि बियरिस मारुबोजु आकृति बनाएको छ। यसले बजारमा विक्रेता हाबी रहेको संकेत गर्नुका साथै बजार अझ केही सच्चिन सक्ने संकेत गरेको छ। आजको परिमाणले बजारमा विक्रेताहरु केही मात्रामा मात्रै कम भएको देखिन्छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। बजार आज पनि घट्दो प्रवृत्तिमा रहेको छ। हाल बजार मनोवैज्ञानिक टेवा १३०० भन्दा तल रहेको देखिन्छ। 

१४ समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्सेको प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको र हाल यो ईएमए प्रतिरोधको रुपमा देखिएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ३० दशमलव ०८ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गर्नुको साथै अर्को दिन केही समयका लागि क्रेताको चाप हुन सक्ने प्रारम्भिक संकेत गरेको देखिएपनि बजार बढ्दो प्रवृत्तिमा हुने संकेत भने होइन। 

निष्कर्ष

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा बजार घट्दो प्रवृत्तिमा रहेकाले अर्को बजार बढ्ने सकारात्मक संकेत कुर्नु पर्ने देखिएको छ। त्यसैले हाल पर्ख र हेरको रणनीति अपनाउनु नै उपयुक्त देखिन्छ। १३०० अब प्रतिरोधको रुपमा रहनेछ भने सामान्य तत्कालीन टेवा १२८५ मा रहेको देखिन्छ।
 

 Published Date: Monday, 3rd June 2019 12:57:14 pm