सोमबार, मंसिर २३, २०७६

शेयर बजारमा खरिदकर्ता हाबी

काठमाडौं, असार १७  : अन्तिम समयमा आक्रामक रुपमा खरिदकर्ताले शेयर खरिद गर्दा मंगलबार दोस्रो बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ।  

परिसूचकलाई सर्वाधिक असर गर्ने वाणिज्य बैंकहरुको परिसूचकमा १ दशमलव ०२ प्रतिशतको वृद्धि देखिएको छ।  साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक ११ दशमलव ०२ ले वृद्धि भएर १२५३ दशमलव ०६ को विन्दुमा पुगेको छ। 

दोस्रो बजार परिसूचकमा ० दशमलव ८९ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२४२ दशमलव ०३ को विन्दुमा खुलेको थियो भने १२५३ दशमलव ०६ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १२३८ दशमलव ७७ थियो। दिनभरमा ४२ करोड ९४ लाखको शेयर किनबेच भएको छ। नेप्से परिसूचकमा वृद्धि आएसँगै कारोबार  रकममा वृद्धि देखिएको छ। परिसूचकमा वृद्धि देखिनु र कारोबार रकम वृद्धि हुनुलाई सकारात्मक प्रवृत्ति मानिन्छ।  

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै मेगा बैंक नेपाल लिमिटेडको शेयर किनबेच भएको छ। मेगा बैंक नेपाल लिमिटेडको ४ करोड ९५ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज स्वरोजगार लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने युनियन हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमलव ८८ प्रतिशतले गुमाए। 


शेयर सूचीकरण 

नेरुडे लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

शेयर परिवर्तन 

नबिल बैंक लिमिटेडको ९० लाख २ हजार ५ सय ६६ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिवर्तन भएको छ। अब भने कम्पनीमा संस्थापक शेयर र साधारण शेयरको अनुपात ६० बराबर ४० भएको छ।   

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार १२४६ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२५५ मा रहेको देखिन्छ। त्यस्तै, टेवा १२३७ मा रहेको भनिएको थियो। आज बजारले १२३८ दशमलव ७७ मा टेवा प्राप्त गरेपछि बजार बढ्दो प्रवृत्तिमा रहेको छ। आज नेप्से परिसूचक १२५३ दशमलव ०६ मा बन्द भएको छ। 

चित्र नं १:  दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति बमोजिम हालसम्म बजार घट्दो प्रवृत्तिमा रहेको छ। गत तीन दिनका मैनबत्तीहरुले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरेको छ। आजको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। यसले बजार केही समय सकारात्मक हुन सक्ने संकेत गर्दछ। परिमाणमा पनि वृद्धि देखिएको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो प्रवृत्तिहीन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ। 

आजको कारोबारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले ‘गोल्डन क्रस’ बनाए वापत बजार बढ्दो प्रवृत्तिमा रहेको छ।  रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ९० दशमलव ०५ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरे पनि बजार सच्चि हाल्ने संकेत गरेको देखिँदैन। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा   आज बजार बढ्दो प्रवृत्तिमा रहेको र अब बजारले १२५५ देखि १२६८ को प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ। यदि बजारले यो प्रतिरोध क्षेत्रलाई निश्चित रुपमा तोड्न सके बजार अझ सकारात्मक हुन सक्ने देखिन्छ। अर्को तत्कालीन प्रतिरोध १२९० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२३७ भन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२२० देखि १२३० को क्षेत्रमा रहेको देखिन्छ। 


 

 Published Date: Tuesday, 2nd July 18:22:50 PM