मंगलबार, असोज १३, २०७७

शेयर बजार स्थिर, शिवम सिमेन्टमा आकर्षण बढ्दो

काठमाडौं, जेठ २ : बजार सामान्य घटे पनि बिहीबार दिनभर शिवम सिमेन्टको शेयरमा लगानीकर्ताको अत्याधिक चासो थियो। केही दिन यता निरन्तर बढेको शिवमको सिमेन्टको शेयर मूल्य हिजो भने करिव ४ प्रतिशतले घटेको थियो। 

कारोबारको सुरुवातमा केही विक्री चाप देखिएपनि पछिल्लो समयमा खरिदकर्ता निकै सक्रिय हुँदा आज शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको छ। आज अन्तिम समयमा विक्रीकर्ता नै थिएनन् भने सर्किट लेभलमा निकै राम्रो खरिदकर्ताको उपस्थिति थियो। 

शिवम सिमेन्टका ठूला खरिदकर्ताले कारोबारको सुरुवाततिर त्यति आक्रमक खरिद नगरे पनि अन्तिम समयमा आक्रामक रुपमा विक्रीमा रहेको शेयर उठाउँदा शिवमको शेयर मुल्यमा उत्साहजनक वृद्धि देखिएको छ। 

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक २ दशमलव २९ ले  घटेर १३१८ दशमलव ७१ को विन्दुमा पुगेको छ। आज दोस्रो बजार परिसूचकमा ० दशमलव १७ प्रतिशतकोे गिरावट देखिएको छ। आज दोस्रो बजार १३२१ को विन्दुमा खुलेको थियो भने १३२६ दशमलव ६९ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १३१३ दशमलव ९३ थियो। आज दिनभरमा ९४ करोड ७६ लाख बराबरको शेयर किनबेच भएको छ। शिवम सिमेन्टको बजार मुल्य सर्वाधिक १० प्रतिशत वृृद्घि भएसँगै उत्पादन तथा प्रशोधन कम्पनीहरुको उपसूचकमा सर्वाधिक वृद्धि देखियो। उत्पादन तथा प्रशोधन कम्पनीहरुको उपसूचकपछि विकास बैंकहरुको उपसूचकमा उच्च वृद्धि देखिएको छ।  

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै शिवम सिमेन्टको शेयर किनबेच भएको छ। शिवम सिमेन्टको १३ करोड ४१ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज शिवम सिमेन्टका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने कृषि विकास बैँक लिमिटेडका शेयरधनीले सर्वाधिक ३ दशमलव ८८ प्रतिशतले गुमाए। 

प्राथमिक बजार गतिविधि 

- नेपाल बंगलादेश बैंकले जेठ १० गतेदेखि १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५ नाम गरेको ऋण पत्र जारी गर्न लागेको छ। २० लाख इकाई ऋण पत्र विक्री खुला गर्ने भएको छ। २० लाख इकाईमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ। यस ऋण पत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत व्याज प्रदान गरिने छ।

यो ऋण पत्र १० वर्षमा परिपक्व हुनेछ। लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। यस ऋण पत्रमा जेठ १४ गतेसम्म आवेदन दिन सकिने छ। यदि सो समयसम्म पनि सम्पूर्ण इकाईमा आवेदन नपरेमा असार ८ गतेसम्म समय थपिने छ। 

प्राविधिक विश्लेषण 
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको टेवा १३२० र १३१० मा रहेको भनिएको थियो। आज बजार १३१३ दशमलव ९३ को सामान्य टेवा प्राप्त गरे वापत बजार केही बढेर १३१८ दशमलव ७१ मा बन्द भएको थियो। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


 
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम तल्लो प्रवृत्ति रेखाभन्दा माथि रहेकाले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। हिजोको मैनबत्तीले सुटिङ्ग स्टारको आकृति बनाएको र आजको बजारले डोजी आकृति बनाएकाले लगानीकर्ता अझै अन्योल अवस्थामा रहेको देखिन्छ। आजको परिमाणले क्रेता र विक्रेता दुबैको चाप रहेको संकेत गरेको छ। 


चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, हिजो र आजको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। नेप्सेको प्रवृत्ति हेर्दा आज बजार प्रवृत्तिहीन रहेको देखिन्छ। बजार १३२० भन्दा तल रहेकाले बजार छोटो समयका लागि त्यति सकारात्मक भइहालेको देखिँदैन।

बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत त्यति प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४७ दशमलव ७९ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार सकारात्मक क्षेत्रमा रहन सकेको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयतिर शेयर बढी खरिद भएको र बजार केही सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्ष 

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्तिहरु र सूचकहरुलाई समग्र रुपमा हेर्दा यदि बजार १३३५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत देखिन्छ। बजारको तत्कालीन सामान्य टेवा १३१२ देखि १३१५ को क्षेत्रमा रहेको देखिन्छ भने मुख्य टेवा १३०० मा रहेको देखिन्छ। यो आफैमा पनि मनोवैज्ञानिक टेवा क्षेत्र हो। 
 

 Published Date: Thursday, 16th May 2019 12:08:19 pm