बिहीबार, साउन २, २०७६

शेयर बजारमा विक्रीकर्ता नै हाबी, कतिसम्म जाला बजार?

काठमाडौं, असार २३ : दोस्रो बजार खुलेदेखि नै निरन्तर घटेको थियो।  बजारले सुरुवाती १५ मिनेटमा केही माथिल्लो दिशा समात्न खोजेपनि बजारमा विक्री चाप नै हाबी भएको थियो।  

साताको दोस्रोे कारोबार दिन सोमबार नेप्से परिसूचक ८ दशमलव ७० ले  घटेर  १२४७ दशमलव ३५ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ६९ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२५६ दशमलव ०४ को विन्दुमा खुलेको थियो भने १२५७ दशमलव ५७ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२४५ दशमलव ६२ थियो। दिनभरमा ५९ करोड १० लाखको शेयर किनबेच भएको छ। 

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। प्रभु बैंक लिमिटेडको ११ करोड ४५ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज इन्फिनिटी लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले गुमाए। 

कारोबार रोक्का 
सिटीजन्स् बैंक इन्टरनेश्नल लिमिटेडले एक्वायर गर्ने भएपछि आजदेखि सहयोगी विकास बैंकको शेयर कारोबार रोकिएको छ।

शेयर सूचीकरण 
आज सुर्योदय लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

कारोबार सुरुवात 
आजबाट इन्फिनिटी लघुवित्तको शेयर कारोबार सुरु भएको छ।  

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, यदि बजार १२५५ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालीन टेवा १२५० मा रहेको भनिएको थियो। आज बजार यी दुबै टेवा क्षेत्रभन्दा तल रहेको र नेप्से परिसूचक १२४७ दशमलव ३५ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


 
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति बमोजिम अब बजारले १२३७ को टेवा क्षेत्रलाई सामना गर्नुपर्ने हुन्छ। घट्दो प्रवृत्तिमा रहेको बजार वाणिज्य बैंकहरु मर्ज हुनुपर्ने कुराले केही दिन बजारको प्रवृत्तिमा असर परेको देखिन्छ। आजको परिमाणले बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबारको दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज पनि त्यही क्रममा रहेको देखिन्छ।  हिजोजस्तै आजको कारोबारमा पनि २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु फराकिलो हुँदै गएकाले बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ।

आज कारोबारको अन्तिम समयमा रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) १४ दशमलव ६० देखि ३६ दशमलव ६९ अंकमा आएकाले अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा क्रेताको चाप हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा  बजारको तत्कालीन प्रतिरोध १२५५ मा रहेको भएपनि यदि बजार १२५८ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालीन प्रतिरोध १२७० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२३७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ। 
 

 Published Date: Monday, 8th July 18:12:24 PM