शुक्रबार, कात्तिक १, २०७६

ओरालो लाग्दै शेयर बजार

काठमाडौं, असोज ५ : अघिल्लो साताको अन्तिम कारोबार दिनदेखि घटेको बजार आज पनि ओरालो आएको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १६ दशमलव ०५ अंकले घटेर ११३९ दशमलव २५ को विन्दुमा पुगेको छ। ११५५ दशमलव ३० को विन्दुमा खुलेको दोस्रो बजार ११५७ दशमलव ९० को उच्च विन्दुसम्म पुगेको थियो। 

दोस्रो बजार परिसूचकमा १ दशमलव ३९ प्रतिशतकोे गिरावट देखिएको छ। बजारको न्यून विन्दु ११३५ दशमलव ०८ थियो भने दिनभर २२ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको १ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज वेष्ट फाइनान्स कम्पनीका शेयरधनीले सर्वाधिक ४ दशमलव ५५ प्रतिशतले कमाए भने रिलायन्स फाइनान्सका शेयरधनीले सर्वाधिक ८ दशमलव ३३ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार ११५३ भन्दा तल स्थिर रहेमा बजार पुनः केही सच्चिन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन टेवा ११४१ मा रहेको देखिन्छ भनिएको थियो। आज बजारले यो टेवालाई तोडेवापत बजार सच्चिएको छ र ११३९ दशमलव २५ विन्दुमा बजार बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आज पनि बजारले वियरिस मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा विक्रेता हाबी रहेको संकेत गर्दछ। आजको परिमाण भने प्रभावकारी देखिँदैन। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा रहेको बजार आज पनि घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा फराकिलो भएकाले बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गर्दछ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३५ दशमलव ७९ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको र अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकले बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार ११५० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को सामान्य तत्कालीन प्रतिरोध ११६० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११३५ भन्दा तल स्थिर रहेमा बजार पुनः केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ। 
 

 Published Date: Sunday, 22nd September 18:40:20 PM