आईतबार, असोज ५, २०७६

निजी स्कुल खुलेर बिग्रेका हैनन् सामुदायिक स्कुल

नातिकाजी महर्जन, प्रध्यानाध्यापक, ज्ञानोदय उमावि बाफल

पछिल्लो समय निजी र सामुदायिक विद्यालयहरूबीच अन्तर्विरोध देखिएको छ।  निजी विद्यालयहरूमा शिक्षाको गुणस्तर बढ्दै छ तर सामुदायिक विद्यालयहरूको स्तर खस्किदो छ। निजी विद्यालयहरूमा विद्यार्थी ओइरो छ तर सामुदायिक विद्यालयहरू सुकिरहेका छन्। सिंगै नेपाली समाज आफ्ना बालबालिकाहरूलाई सामुदायिक विद्यालयबाट विमुख गराइरहेका छन् । फेरि निजी विद्यालयहरूलाई नै गाली पनि गरिरहेका छौँ ।  

निजी विद्यालयहरूले गुणस्तर र सेवा सुविधाको तुलनामा बढी नै महंगो शुल्क पनि लिने गरेका छन् र पनि विद्यार्थीको धुइरो छ। सामुदायिक विद्यालयहरू चाहिँ निःशुल्क प्राय छन् र तर पनि विद्यार्थी भर्ना गर्न कोही पनि अविभावक आउँदैनन्।  सामुदायिक विद्यालयलाई त्यहाँका शिक्षक, अविभावक, विद्यार्थी, भूपू विद्यार्थी, समाजका अगुवाले वास्तै गर्दैनन्। यस्ता सरोकारवालाले गैरजिम्मेवारीका कारण यो समस्या सृजना भइरहेको छ। 

शिक्षण अनुशासन सिकाउने पेशा हो। आफ्नो विद्यालयलाई राम्रो बनाउन आफैँ काम गर्नुपर्छ। पहिले सामुदायिक विद्यालय नसुधारी निजीलाई गाली गर्न नैतिक रूपमा मिल्दैन। गुणस्तरीय शिक्षाका लागि प्राथमिक कुरा हुन्– विद्यालयको वातावरण, बालबालिकासँगको व्यवहार, शैक्षिक सामग्री निर्माण र प्रयोगाेगात्मक शिक्षण कला, भौतिक पूर्वाधार र श्रोत व्यवस्थापन । विद्यार्थी र तिनका अभिभावकविना विद्यालय पूर्ण हुन सक्दैन। 

एकपटक आफैँ अभिभावक भएर सोचौँ न!  एउटा अभिभावकका लागि आफ्नो सारा जिन्दगी र आफ्नो भविष्य बालबच्चा हुन्। त्यसैले अविभावकले सकी–नसकी आफ्नो बालबच्चालाई पढाइरहेको हुन्छ। तसर्थ सबै विद्यालयले अभिभावकको कुरा सुन्नुपर्छ। सबै अभिभावकबीच समान सम्बन्ध राख्नुपर्छ। सबैलाई सम्मान गर्नुपर्छ। विद्यालयमा अभिभावकको सक्रियता बढाउनुपर्छ। निर्णय प्रक्रियामा अभिभावकलाई अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्छ, अपनत्वको भावना वृद्धि गराउनै पर्छ। 

स्कुलले कुनै पनि निर्णय गर्नुपूर्व अभिभावकहरूलाई अनिवार्य सूचना दिनुपर्छ । निर्णय प्रक्रियामा सहभागी हुन अनुरोध गर्नुपर्छ। विद्यार्थीका राम्रो पक्षकाबारेमा बताउँनुपर्छ। आफ्नो बालबालिकाको सिकाइ–स्तरका बारेमा विद्यालयले चासो राख्छ भन्नेमा विश्वास दिलाउने काम गर्नुपर्छ। अहिले अविभावकहरू निजी विद्यालयको गुणस्तरमा आकर्षित छन्। त्यसैले जतिसुकै महंगो शुल्क पनि तिर्न बाध्य छन्। सामुदायिक विद्यालयहरू निःशुल्क भएर पनि किन अभिभावकहरू आकर्षित नहुनुको कारण यही हो। त्यसैले सामुदायिक विद्यालयहरूले बरु केही शुल्क लिऊँ तर गुणस्तरमा सम्झौता नगरौँ भन्ने मेरो धारणा छ। 

आवश्यकता र जनसङ्ख्याका आधारमा विद्यालयको संख्या पनि ह्वात्तै बढेका छन्। विद्यार्थीका सङ्ख्या पनि बढिरहेको छ । तर सामुदायिक विद्यालयमा आउन चाहिँ छाडेका छन्। अहिले सामुदायिक विद्यालयमा स्रोत, साधन र सरकारी लगानी हुँदाहुुँदा हुँदै पनि विद्यार्थी संख्या न्यून छ। यो निजी विद्यालयहरूका कारण सिर्जित समस्या  होइन।टोल–टोलमा निजी विद्यालय भएकै कारण सरकारी विद्यालय सुकेका पनि होइनन्। सुकेका विद्यालय हरियाली फिराउन हामी सामुदायिक विद्यालयमै लाग्नुपर्छ। समस्या के हो भने सामुदायिक विद्यालय गुणस्तरमा प्रतिस्पर्धा गर्दैनन्। गुणस्तर सुधारमा ध्यान दिँदैनन्। विद्यार्थी संख्या घट्दा अभिभावकहरूसँग सम्बन्ध राख्दैनन्। उक्त तीनै काम निजी विद्यालयहरूले गर्छन्।

हाम्रो अनुभवले भन्छ–अब सामुदायिक विद्यालय पनि विद्यार्थी लिन अभिभावकहरूको घरमै पुग्ने बेला भइसकेको छ। आफ्नो विद्यालयको गुणस्तर सुधार गर्ने गरिछाड्ने बेला भएको छ। विद्यार्थीहरू सामुदायिक विद्यालय नआई घर बस्नु वा अर्को विद्यालय पढ्न किन खोज्छन्? यसको मनोवैज्ञानिक कारण पत्ता लगाउनुपर्छ । त्यसमा सुधार गर्न जरुरी छ।हाम्रो विद्यालय (ज्ञानोदय मावि, बाफल) का शिक्षकहरू आफै घरदैलोमा गएका छन्। यस्ता उदाहरण अरु पनि छन्। सामुदायिक विद्यालयमा सरकारी लगानीका वा समुदायको लगानी भएको विद्यालय होे। तिनलाई निजी विद्यालयभन्दा ठूलो दायित्व बोध पनि हुनुपर्छ– समुदायप्रति। विद्यालयमा विद्यार्थीहरू आकर्षित गर्न विद्यार्थी रमाउने प्रकारको वातावरण सिर्जना गर्न जरुरी छ। 

भर्ना अभियान त चलाइएका छन् । बजेट पनि खर्च भएको छ । तर, हाम्रा धेरै बालबालिका अझै पनि विद्यालयसम्म पुग्न सकेका छैनन्। कतिपय अभिभावकहरू दुई छाक समेत टार्न सक्दैनन्। त्यस्ता अभिभावकका बालबच्चाहरू पनि विद्यालयसम्म ल्याउनु ठूलो चुनौती हो। यस कार्यमा पनि सरकार नै आएर छुट्टै केही गर्ने होइन। विद्यालयले नै काम गर्नुपर्छ। विद्यालयले आफू रहेको समुदायलाई राम्रोसँग चिन्नुपर्छ, जसका कारण सबै अभिभावकहरूसँग सम्बन्ध रहिरहोस्। त्यसपछि मात्रै आफ्नो समुदायभित्रका व्यक्तिको सामाजिक–आर्थिक अवस्थाबारे विद्यालयले थाहा पाउँछ। त्यसै अनुसार व्यवहार गर्न सके शायदै विद्यार्थीहरू बाहिर रहन्छन्।

ज्ञानोदय विद्यालयको ल्याब ।

विद्यालयमा सबैभन्दा जिम्मेवार व्यवस्थापन नै समिति हो तर त्यसो भन्दै शिक्षकहरूले कहिल्यै पनि पन्छिन पाउँदैनन्। किनभने, शिक्षकहरूको हातमा नै बालबालिकाको भविष्य हुन्छ। उनीहरू भविष्य निर्माता हुन्। व्यवस्थापन समितिसँग मिलेर जाने सहकार्य गरेर अगाडि बढ्ने वातावरण जहिले पनि निर्माण गर्नुपर्छ। विद्यालयको सिकाइ–स्तर सुधार गर्न प्रतिबद्धताहरूले मात्र काम गर्दैन। बालबालिकालाई पढाउने सीप भएका शिक्षक मात्रै भएर पनि हुँदैन। त्यसका लागि इच्छाशक्ति भएका हुनुपर्छ।विद्यालयहरूले गर्ने हरेक निर्णय प्रक्रियामा आफ्ना विद्यार्थीलाई सहभागी गराउनु अझ उपर्युक्त हुन्छ। 

विद्यालयहरूले आफैँ निर्णय लिनु सबैभन्दा ठूलो समस्स्याको विषय हुन्छ। अभिभावक तथा सरोकारवालाको कुरा सुनेर कार्यान्वयनमा लान सके गुणस्तर सुधारमा टेवा पुग्छ । तसर्थ विद्यालयहरूले समय–समयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, बुद्धिजीवी, शिक्षक अभिभावक संघ लगायतको संयुक्त भेला तथा बैठकहरू गर्दै अन्तक्रिया र सुझावको आधारमा निर्णय लिने गर्नुपर्छ।

विद्यालयमा अध्ययनरत बालबालिका, बालक्लब तथा हरेक कक्षामा आवश्यक छलफल र अन्तक्रिया गर्नुपर्छ। समाजका विभिन्न कार्यक्रममा समेत विद्यालयको गतिविधि र कार्यक्रमको विषयमा जानकारी गराउनुपर्छ। विगतमा लिएका निर्णयको विश्लेषण गर्दै वर्तमान परिस्थितिको मूल्याङ्कन गर्नुपर्छ। निर्णय लिनुपूर्व भविष्यमा आउने सकारात्मक तथा नकारात्मक परिणामको पूर्वानुमान गर्नुपर्छ। यी सबै विचार गरी निर्णय लिन सके अभिभावक, शिक्षक, विद्यार्थी व्यवस्थापन समिति तथा सम्बद्ध सरोकारबीचको सम्बन्ध सुमधुर रहन्छ।

विद्यालयलाई अनुशासित राख्नु सफल विद्यालयको पहिलो आधार हो। शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यार्थीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ। यो सम्बन्ध सबै पक्षको अनुशासनको जगमा रहन्छ। त्यस कारण शिक्षकहरू र व्यवस्थापन समिति सधैँ अनुशासित हुनुपर्छ। अभिभावकहरू सबै अनुशासित नहुन पनि सक्छन् तर विद्यालयहरूले आफ्ना विद्यार्थीलाई अनुशासित राख्न शिक्षकहरूलाई अनुशासित राख्न जरुरी छ। यति गर्न सक्यौं भने सफल विद्यालय, सफल समुदाय र सफल भविष्य निर्माण हुने कुरामा दुई मत छैन। 

(मनीषा अवस्थीसँगको कुराकानीमा आधारित)
 

 Published Date: Sunday, 7th April 19:46:46 PM