मंगलबार, कात्तिक २६, २०७६

नेकपा नेता झक्कुप्रसाद सुवेदीका छोरा सन्तोष पक्राउ

सन्तोष सुवेदी। | तस्वीर:सन्ताेषकाे फेसबुकबाट।

काठमाडौं, असोज ३० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता झक्कुप्रसाद सुवेदीका छोरा सन्तोष पक्राउ परेका छन्।

२०६४ को संविधानसभा निर्वाचनमा तत्काली नेकपा (एमाले)का महासचिव माधवकुमार नेपाललाई काठमाडौं–२ पराजित गर्दै झक्कुप्रसाद सुवेदी चर्चामा आएका थिए। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएपछि बनेकाे नेकपामा सुवेदी केन्द्रीय सदस्य छन् भने उनका छोरा सन्तोष नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आवद्ध छन्।

सन्तोष अहिले नेकपा रोप्ला ईन्चार्ज रहेका छन्। उनी विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सँगै दाङबाट पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार, नेकपा २१ जना नेतासँगै उनी पनि पक्राउ परेका हुन्।

सन्तोषले रसायन विज्ञानमा रसियाबाट स्नातक गरेका छन्। उपराष्ट्रपति नन्दबहादुर पुनसँगै भूमिगत बसेका सन्तोषले सचिवालयमा पनि बसेर काम गरेका थिए।

सन्तोषका अन्य परिवारजन भने नेकपामै छन्। उनी मात्रै विप्लव नेतृत्वको नेकपामा संलग्न रहेको जनाएको छ।

गएराति १ बजे दाङ प्रहरीको टोलीले नेपाल–भारत सीमा क्षेत्र नजिकको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट विप्लवका दाइ वीरजङ्गसहित थुप्रै नेतालाई पक्राउ गरेको थियो। बैठक बसिरहेको सूचना पाएपछि राति नै प्रहरी टोली परिचालन गरिएको थियो।

 Published Date: Thursday, 17th October 15:15:01 PM