बिहीबार, माघ १६, २०७६

साग महिला फुटबलः स्वर्ण जित्नबाट फेरि चुक्यो नेपाल

| तस्वीर:फाइल

पोखरा, मंसिर २३ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल स्वर्ण पदक जित्नबाट चुकेको छ। 

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग २–० ले पराजित भएपछि महिला फुटबलमा स्वर्ण जित्ने नेपालको सपना चकनाचुर भएको हो। हारसँगै नेपालले महिला फुटबलमा रजत पदकमै चित्त बुझाउनु परेको छ। 

नेपाल साग अन्तर्गत महिला फुटबलको फाइनलमा योसँगै लगातार तीन पटक भारतसँगै पराजित हुन पुगेको छ। नेपाल सागमा महिला फुटबल सन् २०१० देखि समावेश भएको थियो। तर, फाइनल पुगेपछि भारतसँग पराजित हुँदै स्वर्ण जित्नबाट भने चुकिरहेको छ। 

घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा बालादेवीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।

पहिलो हाफमा १–० को अग्रता लिएको भारतका लागि खेलको ५५ औं मिनेटमा बालादेवीले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्। बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि भारत २–० ले विजयी हुँदै स्वर्ण पदक हात पार्न सफल भयो।
 

 Published Date: Monday, 9th December 15:35:35 PM