आईतबार, असोज ५, २०७६

सरकारले बढायो सडक कर, देशैभर दोब्बर वृद्धि

| तस्वीर:फाइल फोटो

काठमाडौं, चैत २२ : सरकारले देशैभरको सडक करमा भारी बृद्धि गरेको छ । अब सडक प्रयोगकर्ताले दोब्बर कर तिर्नु पर्ने छ। 

मन्त्रिपरिषद्को चैत १४ गते बसेको बैठकले सडक कर बृद्धि गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। अब हेटौडा–नारायणगढ सडकखण्डमा बस, ट्रक तथा हेबी मेसिनरी इक्विुपमेन्टले एक सय रुपैयाँँ तिर्नुपर्ने छ । यसअघि ५० रुपैयाँ रहेको थियो । कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरको ४० रुपैयाँ पुर्‍याइएको छ । यसअघि भने २० रुपैयाँ रहेको थियो ।

त्यस्तै, तीनपांग्रे टेम्पु, मोटरसाइकल र स्कुटीले पनि दोब्बर कर तिर्नुपर्ने छ । यस अघि १५ रुपैयाँ रहेकोमा मन्त्रिपरिषद्ले ३० रुपैयाँ पुर्‍याएको छ। देशभरका सबै सडकमा यसअघिभन्दा दोब्बर कर पुर्‍याइएको छ । नारायणगढ–बुटवल सडकखण्डमा ठूला बस र ट्रकको लागि एक सय ३० रुपैयाँ, कार र जिपको लागि ६० र मोटरसाइकलको लागि १० रुपैयाँ शुल्क तोकिएको छ।

नौबिसे–मुग्लिनमा बस र ट्रकले सडक उपयोग वापत एक सय २० रुपैयाँ, कार र जिपले ५० रुपैयाँ तथा मोटरसाइकल र स्कुटीले १० रुपैयाँ तिर्नुपर्ने छ।

त्यस्तै, भैरहवा–भुमही सडकखण्डमा ट्रक र बसको लागि ३०, कार र जिपको लागि २० तथा मोटरसाइकलको लागि १० रुपैयाँ शुल्क तोकिएको छ । काँकगडभिट्टा–दमकमा बस र ट्रकलाई ७५, कार र जिपलाई ३० तथा मोटरसाइकललाई १० रुपैयाँ शुल्क राखिएको छ।

दमक–इटहरिमा बस र ट्रकलाई एक सय २५, कार र जिपलाई ५० तथा  मोटरसाइकललाई १० रुपैयाँ तोकिएको छ । बिराटनगर–धरानमा बस र ट्रकलाई ७०, कार र भ्यानलाई २५ तथा मोटरसाइकल र स्कुटरको १० रुपैयाँ तोकिएको छ । कोशी सडकखण्डमा बस र ट्रकलाई एक सय ४०, कार र जिपलाई ५५ तथा  मोटरसाइकललाई १० रुपैयाँ कर तोकिएको छ।

हरुवा–पथलैया सडकखण्डमा बस र ट्रकलाई एक सय २५, कार र जिपलाई ८५ तथा मोटरसाइकलको १० रुपैया लाग्ने छ । हेटौडा–विरगन्जमा बस र ट्रकलाई ८५, कार र जिपलाई ५० तथा मोटरसाइकललाई १० रुपैयाँ तोकिएको छ।

यस्तै, वीरगन्ज–पथलैया सडकखण्डमा बस र ट्रकलाई ५० रुपैयाँ, कार र जिपलाई २० तथा मोटरसाइकललाई १० रुपैयाँ निर्धारण गरिएको छ । धुलिखेल–खुर्कोटमा बस र ट्रकलाई एक सय २५, कार र जिपलाई ५० तथा मोटरसाइकललाई १५ रुपैयाँ लाग्ने छ।

यसैगरी, खुर्कोट–सिन्धुली–बर्दिबासमा बस र ट्रकलाई एक सय १५, कार र जिपको ४५ तथा मोटरसाइकलको १५ रुपैयाँ तोकिएको छ । पाँचखाल–धुलिखेल–मेलम्चीमा भने बस र ट्रकलाई ५०, कार र जिपको १५ तथा मोटरसाइकलको १० रुपैयाँ निर्धारण गरिएको छ।

केही सडकखण्डको बाहेक अधिकांसमा दोब्बर बृद्धि गरिएको छ । ०५७ को सडक नीतिमा केही परिमार्जन गरिएको र केही थपिएको मन्त्री बास्कोटाले जानकारी दिए।

 Published Date: Friday, 5th April 12:20:39 PM