बिहीबार, असोज ३०, २०७६

प्रचण्डले भने- जेलमा रहेका रेशम चौधरी स-सम्मान छुट्छन्

झुम्का, असोज ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहर भएर जेल चलान भएका सांसद रेशमलाल चौधरी छुट्ने संकेत गरेका छन्। 

आइतबार सुनसरीको झुम्कामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताको मतबाट जितेका माननीयहरुलाई स–सम्मान ल्याउने वातावरण बन्ने बताएका हुन्। उनले टिकापुर घटनाका विषयमा नेकपाको सचिवालय बैठकमा छलफल भएको र सबै झुठा मुद्दा खारेज गर्नु पर्छ भन्ने सैद्धान्तिक निर्णय भएको बताए। 

‘टिकापुर घटनामा जे भएको छ। त्यसबारे नेकपाभित्र छलफल भएको छ र झुठा मुद्दा खारेज गर्ने सहमति भएको छ। अहिले पनि थारुहरु त्यही मुद्दामा बन्दी अवस्थामा छन्। उनीहरु अब छिट्टै छुट्छन्,’ प्रचण्डले भने। 

२०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। तर, टिकापुर घटनामा उनलाई अदालतले जन्दकैदको सजाय सुनाएपछि जेल चलान गरिएको छ। जेलमै रहेका चौधरीलाई सभामुख कृष्णबहादुर महराले सिंहदरबारमै सपथ खुवाएका थिए।

तर, सपथ खुवाएपछि फेरि चौधरीलाई जेलमै लगिएको थियो।

उनले आफू पनि माओवादी आन्दोलनको नेता भएको र आफ्नै आन्दोलनमा सहभागी भएका केही अहिले पनि जेलमा रहेको बताए।

‘म पनि माओवादी आन्दोलनको नेता हुँ। दुई पटक प्रधानमनत्री भइसके र अहिले नेकपाको अध्यक्ष छु। सरकार हाम्रै छ,’ उनले भने,‘मेरै आन्दोलनका साथीहरु अहिले पनि जेलमा छन् भनेपछि त्यो पीडा मभित्र कति होला।’ 

उनले माओवादी आन्दोलनका समयमा हालिएको झुठा मुद्दा पनि खारेज हुने संकेत गरे। प्रचण्डले प्राप्त उपलब्धीलाई रक्षा गरेर त्यसकै जगमा बाँकी उपलब्धी हासिल गर्नुको विकल्प नरहेको बताए।

 Published Date: Sunday, 22nd September 17:21:42 PM