मंगलबार, असार ३, २०७६

बिजुलीका तार जमिनमूनि राखिँदै

काठमाडौं, फागनु १२ : नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा रहेका बिजुलीका तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित बनाउने भएको छ । यसका लागि निर्माण कम्पनी छनोट गरेर प्रक्रिया अघि बढाएको छ ।

प्राधिरणले यसको शुरुआत महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रबाट गर्दै छ । दुवै केन्द्रअन्तर्गतका विद्युत्का तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रस्ट्रिज लिमिटेड छनोट भएको हो ।

प्राधिकरणले फागुन ६ मा बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यासम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनु पर्ने छ ।

कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न करबाहेक दुई करोड ५५ लाख ८१ अमेरिकी डलर (एक अर्ब एक करोड ७० लाख  रुपैयाँ) मा ठेक्का सम्झौता हुने छ । कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम दुई करोड २९ लाख डलर (८३ करोड १५ लाख रुपैयाँ) मा गर्ने छ ।

मध्य तथा उत्तर काठमाडौं (महाराजगंज)का आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिए । “ठेक्का सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठबाट काम शुरु गर्ने लक्ष्य तय गरेका छौं,” अधिकारीले भने, “कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नु पर्ने छ ।”

प्राधिकरणले यस अघि अनुमानित लागतभन्दा महंगो दर आएपछि पुरानो टेण्डर प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया शुरु गरेको हो ।

पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गंगबु, सामाखुसीलगायतका महाराजगंज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो ।

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र चारसय भोल्टका प्रणालीलाई भूमिगत र अटोमेसन गरिने छ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्रअन्तर्गतका करिव ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ । वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक मिटर जडान गर्ने योजना छ ।

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ । सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । यो प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेरबीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिन्छ ।

 Published Date: Sunday, 24th February 13:01:41 PM