आईतबार, असोज ५, २०७६

एनसेल बम विष्फोटनमा विप्लव समूहको संलग्नता : गृहमन्त्री

काठमाडौं, फागुन १२ : एनसेलका टावर तथा कार्यालयमा गरिएका बम विष्फोटनमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता देखिएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् ।

आईतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले विष्फोटनमा विप्लव समूह संलग्न रहेको बताएका हुन् । एनसेल नख्खुस्थित कार्यालयसँगै देशभरका दर्जन स्थानमा बम विष्फोटन गरिएको थियो । नख्खुमा भएको विष्फोटनमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई विगतमा उन्मुत्ति दिँदा उनीहरु हौसिएको गृहमन्त्रीको भनाइ थियाे । नख्खु विष्फोटनका विषयमा जानकारी दिँदै गृहमन्त्री थापाले भने, “विप्लव समूहले घटना घटाएको सूचनाहरू प्राप्त भएका छन् ।”

विप्लव समूहका गतिविधि बढ्दै गएको उनको भनाइ थियो । सो समूहले समानान्तर सरकार चलाउन खोजेको उल्लेख गर्दै संविधानविपरित गतिविधि गर्न नदिइने बताए । शान्ति सुरक्षा सुदृढ गर्न विशेष कार्ययोजना ल्याइने उनको भनाइ थियो । “शान्ति सुरक्षामा खलल् पुग्ने गतिविधि गर्न कसैलाई छुट दिइने छैन,” गृहमन्त्री थापाले भने ।

 Published Date: Sunday, 24th February 14:57:53 PM