आईतबार, असोज ५, २०७६

नेपाल छोडेर भारतीय कामदार लिने तयारीमा मलेसिया

काठमाडौैं, फागुन १२ : श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले नेपाली कामदारलाई मलेसिया पठाउन बन्द गरेपछि मलेसियाले भारतीय कामदार लिने प्रक्रिया सुरु गरेको छ । 

नेपालले १० महिनादेखि मलेसियामा कामदार पठाउन रोक लगाएपछि  मलेसियाले भारत सरकारसँग श्रम सम्झौता गर्ने अन्तिम तयारी गरेको हो । श्रम तथा रोजगार मन्त्री विष्ट बहाली भएपछि बन्द भएको मलेसियाको रोजगारी अहिले झनै अन्यौलमा छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गतेदेखि कामदार मलेसिया पठाउन रोक लगाएको छ । नेपालले लामो समयसम्म कामदार रोकेको भन्दै भारतबाट श्रम आपूर्ती गर्न लागेको हो । 

भारतलाई अहिलेसम्म पनि मलेसियाले कामदार आपूर्ति गर्ने स्रोत मुलुकमा सुचिकृत गरेको थिएन । भारतबाट मलेसियाले केही क्षेत्रमा विशेष भिषामा मात्र कामदार लिने गरेको थियो । मलेसियायले भारतलाई सूचिकृत गरेसंगै नेपालको मलेसिया रोजगारी संकटमा पर्ने देखिएको छ । 

नेपालले कामदार पठाउन रोक लगाएपछि विकल्पमा मलेसियाले भारत रोज्दै सूचिकृत गरेको मलेसियाको अनलाईनस पत्रिका एफएमटी न्यूजले जनाएको छ । नेपालसँग श्रम सम्झौता गरेको ५ महिना बिति सक्दासमेत कामदार पठाउने विषयमा सहमति नजुटेपछि मलेसिया सरकार अन्य मुलुकसंग श्रमिक लिने तयारी गरिहरेको छ । 

मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानले भारत, इन्डोनेसियालगायत अन्य मुलुकसँग श्रम श्रम्झौताका लागि वार्ता भइरहेको उक्त अनलाईनलाई बताएका छन् । 
मन्त्री कुलासेगरानले बङ्गलादेशबाहेक अन्य देशका कामदारलाई मलेसियामा ल्याउन कुनै अवरोध नभएको बताएका छन् । कुलासेगरानले भने, ‘बङ्गालदेशमा कामदार राख्ने प्रणालीमाथि छानबिन पेन्डिङमा रहेका कारण त्यहाँका कामदारहरुको भर्ती स्थगन गरिएको छ ।’  

मलेसियाले भारतको दार्जलिङ, सिक्किम, देहरादुन, आशाम क्षेत्रबाट नेपाली मुलका भारतीय लिनेगरी प्रक्रिया अगाडी बढाएको छ । उक्त क्षेत्रमा मात्रै झन्डै ३ करोड भन्दा बढी नेपाली मुलका भारतीय नागरिहरु रहेका छन् । बंगलादेशका नागरिक मलेसियामै विहे गरेर बस्न थालेपछि टाउको दुखाइ भएको मलेसियाले बुद्ध र हिन्दु मुलका नागरिकहरु खोज्न थालेको हो । 

१० महिनामा साढे १२ अर्ब रेमिट्यान्स गुम्यो 

नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया बन्द भएको सात महिनामा १२ अर्ब ६० करोड रुपैया रेमिट्यान्स गुमेको छ 

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार मलेसियामा कामदार भिसामा जानका लागि कलिङ भिसा लिनेको संख्या ७ हजार ४ सय ४९ पुगेको छ ।  नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया बन्द भएको सात महिनामा १२ अर्ब ६० करोड रुपैया रेमिट्यान्स गुमेको छ ।  

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार मासिक १ हजार देखि १० हजार कामदार मलेसिया गइरहेकोमा सात महिनाको अवधिमा ६० हजार नेपाली कामदारले रोजगारी गुमाएका छन् ।  

त्यस्तै औसतमा मासिक ३० हजार कामदारले गर्ने बचत गुमाएको संघको तथ्याङमा उल्लेख गरेको छ । सघको भनाई अनुसार मासिक १ अर्ब ८० करोड रेमिट्यान्स गुमेको छ । मासिक १ अर्ब ८० करोडले सात महिना मा १२ अर्ब ६० करोड रेमिट्यान्स गुमिसकेको संघले जनाएको छ । 

 Published Date: Sunday, 24th February 16:48:23 PM