बिहीबार, माघ १६, २०७६

कोहलपुरका शैक्षिक संस्था बन्द, बिहानैदेखि प्रदर्शन

नेपालगञ्ज, मंसिर २३ : ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि बाँकेको कोहलपुरमा उत्पन्न तनाव कम भएको छैन। आज शैक्षिक संस्था बन्द गरिएका छन भने स्थानीय वासिन्दाले प्रदर्शन गर्न थालेका छन्।

आइतबार कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएको थियो। उनी लडेपछि ट्रकको पछाडिको चक्काले दुवै खुट्टा किचिएका थिए। उनको नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको छ। उनको काठमाडौंस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

उनी त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन्। स्कुल नजिकै दुर्घटना भएपछि विद्यार्थी र स्थानीय वासिन्दा तत्कालै प्रदर्शनमा उत्रिएका थिए।

उनीहरुले ट्रकमा आगजनी गरेका थिए भने प्रहरीले हवाइ फायर गरेको थियो। विद्यालयमै गएर प्रहरीले विद्यार्थीमाथि कुटपिट गर्दा कयौं घाइते भएका छन्।

त्यसको विरोधमा आज कोहलपुरका शैक्षिक संस्था बन्द गरिएको हो। स्थानीय वासिन्दा आज बिहानैदेखि विरोध गर्न थालेका छन्।

स्थानीय प्रशासनले कोहलपुरलाई निषेधित क्षेत्र घोषणा गरेको छ। त्यहाँ प्रदर्शनमा रोक लगाएको छ।

अहिले अवस्था सामान्य रहेको र प्रदर्शन बढ्न थाले कर्फ्यू लगाइने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताए। ‘स्थिति बिग्रिन नदिन फेरि कर्फ्यू लाग्न सक्छ,’ उनले भने।

 Published Date: Monday, 9th December 10:44:48 AM