आईतबार, असोज ५, २०७६

‘जलेपछि गरिने घरेलु उपचारले धेरैको ज्यान जाने गरेको छ’

| तस्वीर:काठमाडौं प्रेस

गर्मी याम सुरु भएको छ। आगलागीका घट्ना बढ्दै गएका छन्। यस्तो बेला थोरै असावधानीले पनि आगलागी हुनसक्छ। शरीरको कुनै पनि भाग जल्न सक्छ।

प्रायः गाउँघरमा जल्ने वितिक्कै घरेलु उपाय अपनाउने गरिन्छ। जलेको घाउमा गोलभेडा, घ्यूकुमारी, दुथपेस्ट, आलोमाटो लगाउने गरिन्छ। के यो घरेलु उपचार सही हो? कीर्तिपुर अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरकी अवेर्नेस अधिकृत पद्मशोभा महर्जन जलेको ठाउँमा गोलभेडा, घिउकुमारी, दुथपेस्ट, आलोमाटो गलत भएको बताउँछिन्। उनीसँगै जलन र यसको उपचारसम्बन्धी गरिएको कुराकानी :

जलन के हो ?

कुनै पनि भागमा शरीरको तापक्रमभन्दा बढी तापक्रम भएको बस्तुले छुदा जुन पोलाइ हुन्छ, त्यो पोलाइलाई जलन भनिन्छ। त्यो जलन हुने बित्तिकै शरीरको छाला खराब हुन्छ। आगोले पोल्ने मात्रै जलन हैन, तातो पानीले जलन हुन्छ।

तोता पानी, दुध, तेललगायत तरल पदार्थले पोल्छ। आगोले त भयो नै बिद्युतीय माध्यामले पनि पोल्छ। तातो चिज वा बस्तुले छोएमा, कुनै पनि रसायनले तथा चट्याङले पनि पोल्छ। यो सबैको पोलाइ नै जलन हो।

जनल भइसकेपछि के गर्ने?

सकभर जल्नबाटै बच्नु पर्छ। यदि सचेतना अपनाउँदा पनि शरीर जलि हाल्यो भने एउटा सजिलो उपाय छ। सुरक्षित ठाउँ खोज्ने, सुत्ने अनि लडिबुडी गर्ने। यसो गरेमा शरीरको धेरै भाग पोल्न पाउँदैन्।

जस्तो, हामी भान्छामा काम गर्दैछौ या आगोमा काम गर्दै छौं यस्तो अवस्थामा घरमा कोही छैन, एक्लै छौं भने आतिन्छौं। तर, त्यस्तो गर्ने हैन। एक ठाउँमा उभिएर, भूइमा सुतेर लडिबुडी गर्नुपर्छ। भाग्यो भने धेरै ठाउँमा आगो फैलने भएकाले भाग्ने काम कदापी गर्नुहुदैन।

त्यसपछि पोलेको भागलाई चिस्याउनु पर्छ। पानी जो–कसैको घरमा पनि अनिवार्य हुन्छ। २० देखि ३० मिनेटसम्म जलेको भागमा पानी खन्याइराख्नु पर्छ। जब तपाइले पानी लगाउनुहुन्छ तब पोलेको भागको गहिराइसम्म यसको असर पर्दैन। पोलेको भागको प्राथमिक उपचार भनेको घरमै गर्नुपर्छ। त्यो भनेको पानी हो।

अन्य घरेलु उपचार के हुन्छन्?

तपाइँ जलेको बिरामीलाई अस्पतालमा लिन नहतारीनुहोस्। जलिसकेपछि ३० मिनेटसम्म जलेको भागमा पानी राख्नु नै प्राथमिक उपचार हो। स्वास्थ्य संस्था लिएर पनि सबैभन्दा पहिले दिने भनेको स्लाइन पानी नै हो। यो भन्दा अन्य कुनै पनि घरेलु चिज प्रयोग गर्नुहुदैन।

मान्छे जलिसकेपछि हत्तपत्त टुथपेस्ट, घिउकुमारी, गोलभेडा, आलोमाटो लगाउँछन्। यो सबैभन्दा नराम्रो घरेलु उपाय हो। यसो कदापी गर्न हुदैन। यसो गरेमा जलेको शरीरको भागको गहिराइसम्म असर पर्छ। जलेपछि गरिने यस्ता घरेलु उपचारले धेरैकाे ज्यान जाने गरेकाे छ। पछि स्वास्थ्य संस्थामा उपचार गर्दा समेत जाेगाउन नसकिने अवस्था आउने गरेकाे छ।

हाम्रो शरीरमा आगोले पोल्ने बेलाको स्थीतिलाई अण्डासँग दाँजौं। जस्तै अण्डालाई प्रेसर कुकरमा बोयल गर्‍यौं। एउटा सिठी लाग्ने बित्तिकै त्यो प्रेसकुकरलाई लगेर धारामा लगेर राख्यौ भने त्यसको हावा सबै फुस्किन्छ। त्यसो गर्दा त्यो पूरै बोयल हुनपाउँदैन। त्यही अण्डालाई हामीले सिठी लागिसकेपछि १० मिनेट जति त्यत्तिकै राख्यो भने अण्डा पूरै बोयल हुन्छ।

त्यस्तै, हाम्रो शरीरमा पनि कुनै पनि जलन चिज पर्‍यो भने त्यसमा हामीले घिउकुमारी, गोलभेडाजस्ता घरेलु औषधी प्रयोग गर्‍यौ भने त्यो घाउ छोपिन्छ। शरीरको जलेको भागमा बाहिरबाट घरेलु औषधी लगायो भने अण्डा पूरै बोयल भएजस्तै शरीरको अन्य भाग झन खराब हुन्छ। माटोमा आँखाले नदेख्ने कति किटाणु हुन्छन् भन्नै सकिदैन। हामीले त्यही माटो जलेको भागमा लगायौं भने त्यसमा झन संक्रमण हुन्छ। यदी हामीले बिर्सेर पनि यस्ता घरेलु औषधीको प्रयोग गर्‍यो भने पहिले बाहिरी भागमात्रै जलेको भएपनि त्यो भागको पोलाई झनै गहिराइसम्म पुग्छ। त्यस्तै, जलेको भागमा पानीबाहेक अरु कुनै पनि चिज लगाउँनु हुँदैन।

जलनबाट बच्न के गर्नुपर्छ?

यसका लागि आफै सतर्क रहनुपर्‍यो। चुलोमा खान पकाउँदा लामो सारी नलगाउने, नाइलनको सारी नलगाउने, चुलोबाहेक अरुमा खाना पकाउँदा उचाइमा राखेर खान पकाउने। भान्छामा बच्चाहरूलाई प्रबेश गर्न नदिने, पाकेको अथवा कुनै पनि तातो चिज बच्चाहरू नपुग्ने ठाउँमा राख्नेलगायतका विषयमा ध्यान दिनसकियो भने जलनबाट बच्न सकिन्छ।

यो बारेमा चेतना फैलाउन कत्तिको आवश्यक छ?

जलनबारे चेतना फैलाउन निकै आवश्यक छ। यही चेतना नहुँदा सयौ मान्छेको जलेर ज्यान जाने गरेको छ। मान्छे जानीजानी कोही पनि जल्दैन तर, जलिसकेपछि के गर्ने भन्ने कुरामा सोच्न आवश्यक छ। अहिले पनि मान्छे पुरातन सोचमा छन्। जल्ने बित्तकै माथि भनेजस्तै अनेकौ कुराहरू लगाउँछन्। तर, यसले झनै असर गर्छ।

मैले उपत्यकाभित्र मात्र अहिलेसम्म चार÷पाँच सयभन्दा बढी ठाउँमा यस्तै सचेतनामुलक कार्यक्रम गरिसकेको छु। उहाँहरूलाई म यही कुरा सिकाउछु। सक्नु हुन्छ जल्नबाट बचौँ । यदि जलि हाल्यो भने सबैभन्दा पहिले जलेको भागमा पानी राखौं, त्यसपछि मात्रै स्वास्थ्य संस्थातिर लगौं।

केही थप सुझाव छ?

कतिपय गाउँघरमा अझै पनि आगोले जल्ने बित्तिकै धामीझाक्रीमा लग्ने चलन रहेछ। यो एकदमै नराम्रो कार्य हो। अन्य बिरामीलाई त यो बेला स्वास्थ्य संस्था लानुपर्छ भने जलेका बिरामीलाई धामीझाक्री कहाँ लग्दा झन हालत बिग्रिन्छ, यस्ते कदापी गर्नु हुँदैन्। जलेको ठाउँमा पानी राख्नुस्। त्यसपछि अस्पताल लग्नुस्।

 

 Published Date: Monday, 6th May 10:30:31 AM