आईतबार, असोज ५, २०७६

बम विस्फोट गर्नेहरुलाई कारबाही गर्न विवेकशीलको माग 

काठमाडौं, फागुन ११ : विभिन्न स्थानमा एनसेलको टावरहरुलाई लक्षित गरी शुक्रबार रातिदेखि भइरहेका बम विष्फोटका घटनामा संलग्नलाई यथाशक्य छिटो पहिचान गरी कानुनी कारबाही गर्न विवेकशील नेपाली दलले माग गरेको छ । 

शनीबार विवेकशील नेपालले विज्ञप्ति जारी गर्दै बम विस्फोटको लागि जिम्मेवार पक्षको पहिचान गरेर कारवाही गर्न सरकारसँग माग गरिएको छ । 
विज्ञप्तिमा भनिएको छ, ‘यदि यो समाचारमा सत्यता छ भने आफूलाई राजनीतिक शक्ति ठान्ने जो कोहीले जवर्जस्ती चन्दा असुली गर्नु र आफ्नो माग पुरा नभए बम विस्फोट जस्तो हिंसात्मक गतिविधिमा उत्रनु निन्दनीय छ ।’

यस्ता घटनाले लगानीकर्ताहरुमा त्रास सृजना गर्ने र लगानीको सुरक्षामा समेत शंका पैदा हुने विज्ञप्तिमा जनाइएको छ । शान्तिसुरक्षाको व्यवस्था मिलाउन  र यस्ता घटना दोहोरिन नदिन राज्यका सम्बन्धित निकायलाई विवेकशील नेपाली दलले आग्रह गरेको छ । 

साथै आफ्ना मागहरू शान्तिपूर्ण तवरबाट अघि सार्न सो दलले आग्रह गरेको छ । शान्तिपूर्ण असहमतिका आवाजहरुलाई वार्ता र संवादद्वारा जिम्मेवार भएर  सुनुवाइ गर्न पनि दलले अनुरोध गरेको छ । यस्ता घटनामा संलग्नलाई  राजनैतिक संरक्षण गरिनु विधिको शासनको वर्खिलाप हुने विवेकशीलको विज्ञप्तिमा उल्लेख छ । 

 Published Date: Saturday, 23rd February 15:07:20 PM