मंगलबार, कात्तिक २६, २०७६

जेब्रा क्रसिङमै बोलेरोले बृद्धालाई ठोक्यो, घटनास्थलमै मृत्यु

भक्तपुर, असोज ३० : जेब्रा क्रसिङमा बाटो काट्दै गरेकी बृद्धालाई बत्तिएर आएकाे बोलेरोले ठक्कर दिँदा मृत्यु भएको छ।

मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा बाटो काट्दै गरेकी ७६ वर्षीया लक्ष्मीदेवी भट्टराईलाई भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा १४ च १६८६ नम्बरको बोलेरोले ठक्कर दिएको थियो।

ओखलढुङ्गा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने बृद्धाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए।

तीव्रगतिमा आएको बोलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी बृद्धालाई ठक्कर दिएपछि चालक भागेका थिए।

काभ्रेको बेथानचोक गाउँपालिका-३ घर भई हाल काभ्रे भैँसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेले प्रहरी वृत्तमा मध्यपुरथिमिमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। घटनामा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

 

 Published Date: Thursday, 17th October 11:44:29 AM