बिहीबार, चैत्र २७, २०७६

झुलाघाटमा पुल निर्माण गर्न सरकारलाई दबाव दिइने

बैतडी, माघ १६ : नेपाल–भारत सिमानाको झुलाघाटमा पक्कीपुल बनाउन स्थानीयवासीले सरकारलाई दबाव दिने भएका छन् ।

करिब डेढ सय वर्ष अघि ईष्ट–इण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुल जिर्ण भएपछि स्थानीयलाई आवत–जावत गर्न समस्या पर्दै आएको छ ।

बैतडी उद्योग वाणिज्य संघको संयोजनमा जिल्लाका विभिन्न संघ–संस्थाहरूले पुल निर्माणका लागि सरकारलाई दबाव दिन समिति गठन गरेका छन् ।

समितिले फागुन १ गते जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यसपछि रिले अनसनको समेत कार्यक्रम गरिने बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए ।

“झुलाघाटमा पक्की पुल नभएकै कारण भारतसँग सिधा व्यापार गर्न समस्या भएको छ,” चन्दले भने, “पुल नभएकोले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन समेत समस्या परेको छ ।’

बैतडीमात्रै नभई, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, मुगु, जुम्ला र डोल्पाका सर्वसाधारण समेत उक्त नाकाबाट आवतजावत गर्ने गर्छन् ।

“पुल बन्यो भने बैतडीमात्रै हैन, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको मुहार फेरिन्छ । त्यसैले हामीले पुल बनाउन दबाव दिने तयारी गरेका हौ,” दबाब समितिका सदस्य महेस अवस्थीले भने ।

 Published Date: Wednesday, 30th January 17:49:08 PM