सोमबार, असार २९, २०७७

रुखैरुख भएको सडकमा कालोपत्रेको तयारी

सडकबीचमा रहेका रुख । | तस्वीर:काठमाडौं प्रेस

धनगढी, माघ १५ : सघन सहरी विकास आयोजनाले धनगढी उपमहानगरपालिका–६ जालीहुँदै मनहेरासम्म पुग्ने सडकमा रुख नकाटेरै कालोपत्रे गर्ने तयारी गरेको छ ।

फागुनभित्र कालेपत्रे गर्ने तयारीमा रहेको निर्माण कम्पनीले जनाएको छ । आयोजना कार्यान्वयन इकाई धनगढीका अनुसार, निर्माणाधीन सडकखण्ड भरी सुकेका र काचा गरि दुई सय ८४ रुख छन् ।

वातावरणीय प्रभाव मुल्यांकन गरि वन मन्त्रालयमा फाइल पठाएको भएपनि स्वीकृत नमिलेपछि त्यसमै कालोपत्रे गर्ने तयारी भएको आयोजनाले जनाएको छ ।

‘फाइल पेश गरेको ६–७ महिना बितिसक्यो । बन मन्त्रालयले रुख काट्ने आदेश दिएको छैन । आदेश नआए अर्को महिनादेखि कालोपत्रे गर्छौ,’ आयोजना कार्यालय प्रमुख शुरेशकुमार वाग्लेले भने ।

धनगढीका विभिन्न क्षेत्रमा गरि रिङ्गरोडको लम्बाइ ९२.२ किलोमिट रहेको छ । जसमध्ये पहिलो चरणमा २५ किलोमिटर कालोपत्रे भइसकेको आयोजनाका इन्जिनियर रविन बस्नेतले बताए ।

सडकबीचमा रुख राखेर कालोपत्रे गर्न तयारी गरिएपछि स्थानीय बासिन्दा भने चिन्तित बनेका छन् । यसले दुर्घटना निम्त्याउने चिन्ता बढेको स्थानीय भीमबहादुर ऐरले बताए । यसले बस्तीलाई नै असर पर्ने उनको भनाइ छ । ‘दुर्घटना पनि बढ्नछन, सुकेका रुख भएकाले हावाहुरी चल्दा ढल्ने डर छ’ उनले भने ।

 

 Published Date: Tuesday, 29th January 13:20:08 PM