बुधबार, जेठ १४, २०७७

कर्णालीका कारागारमा किताब अभियान      

| तस्वीर:फाइल फोटो

सुर्खेत, चैत  २३ः कर्णाली प्रदेशका जिल्लामा रहेका कारागारमा प्रदेश सरकारले ‘कारागारमा किताब अभियान’ शुरु गरेको छ। 

अभियानको शनिबार शुभारम्भ गर्दै  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षित समाज निर्माणका लागि सामाजिक रुपान्तरण जरुरी रहेको बताए। उनले बन्दुक देखाएर एवं लाठी प्रहार गरेरमात्र समाज शान्त नहुने भएकाले यसका लागि सामाजिक रुपान्तरणको खाँचो रहेको बातए।

उनले अभियानले कर्णालीमा सामाजिक रुपान्तरणको नयाँ आयाम शुरु भएको बताए। ‘सकारात्मक सोचको भावना विकास गर्न पुस्तक पढ्न जरुरी छ, जेलमा बस्दैमा निराश हुनुपर्दैन्,’ मुख्यमन्त्री शाहीले भने,‘तपाईंहरुको ज्ञान, सीप, रुची के छ प्रस्ताव पठाउनुस् सरकार सहयोग गर्न तयार छ।’ उनले कैदीबन्दीलाई गुरुकूल सम्झेर कारागारमा पुस्तक पढ्न आग्रह गरे। उनले यस अभियानलाई गाउँ-गाउँमा पुर्‍याउनु पर्ने बताए। 

सामाजिक विकासमन्त्री दल रावलले फुर्सदमा पुस्तक पढेर सिर्जनशील बन्न कैदीबन्दीलाई सुझाव दिए। जेल बसाइँलाई सदुपयोग गर्न सके राष्ट्रकै प्रतिष्ठित व्यक्ति बन्न सकिने उनको भनाइ थियो। प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले आफू जुम्ला कारागारको निरीक्षणमा जाँदा त्यहाँका एक कैदीले ‘पुस्तक भए पढ्न चाहन्थें’ भनेपछि त्यही कुराले मन छोएर पुस्तक संकलन अभियान शुरु गरेको बताए।  

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेशका आठ जिल्ला कारागारमा एकैसाथ शनिबारदेखि अभियानको शुरुवात गरिएको हो। सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्र पुस्तकालय स्थापना गरिएका छन्। 

हुम्ला र मुगुमा कारागार भवन सञ्चालनमा नआएकाले हुम्लाको जिल्ला प्रशासन र मुगुको जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको छ। अभियानका प्रदेश सदस्य यज्ञ खत्रीले फाइन प्रिन्ट, बुलबुल, बुकहिल, साङ्ग्रिला, नई प्रकाशन, अक्षर क्रियशन, एजुकेशनल बुक नेपाल, पुस्तक व्यवसायी सङ्घलगायतका प्रकाशन गृह तथा संघ–संस्था र व्यक्तिगत सहयोगमा पुस्तक सङ्कलन गरिएको जानकारी दिए। 

उनका अनुसार विभिन्न विधाका आठ हजार ३८८ थान पुस्तक संकलित छन्। त्यस्तै, सामाजिक विकास मन्त्रालयले पुस्तक खरिदका लागि पाँच लाख बजेट उपलब्ध गराएको थियो। रासस

 Published Date: Saturday, 6th April 14:21:48 PM