शनिबार, जेठ १७, २०७७

भैरहवा–लुम्बिनी सडक निर्माणमा लापरवाही

भैरहवा–लुम्बिनी सडक।

रुपन्देही, साउन २३ : प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुले भैरहवा–लुम्बिनी सडक निर्माणमा लापरवाही भएकाले त्यसको अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा समसामायिक विषयमा प्रदेशसभा सदस्यहरुले बुद्ध जन्मस्थललाई जोड्ने सो सडक निर्माणमा गम्भीर त्रुटि रहेकाले ध्यान दिन आग्रह गरेका हुन्।  

प्रदेशसभा सदस्य फकरुद्धिन खानले लाखौँ पर्यटक आवतजावत गर्ने सडक भएकाले भैरहवा–लुम्बिनी सडकको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए। उनले प्रदेश मातहतका आयोजना नभए पनि प्रदेशमा भएका विकास निर्माणमा सरकारको चासो हुनुपर्ने धारणा राखे। 

प्रदेशसभा सदस्य वसिउद्धिन खानले भैरहवा–लुम्बिनी सडकमा भएको लापरवाहीले पर्यटक र यात्रुलाई सास्ती भएको बताए।

उनले गर्मिमा धुलो र वर्षामा हिलो भएका कारण सडकमा आवतजावत गर्न समस्या भएको बताए। उक्त सडकखण्डमा पर्ने वेथरी पुल निर्माणको जिम्मेवारी पाएको पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेकाले फेरि बोलपत्र गराएर पुल निर्माण पूरा गर्नुपर्ने बताए। 

प्रदेशसभा सदस्य माला गोतामेले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन दिवा खाजाको व्यवस्था गर्न माग गरिन्। उनले सरकारी विद्यालयप्रति जनताको विश्वास बढाउन जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गर्नुपर्नेमा जोड दिइन्।

प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले प्रदेशबाट प्रवाह गरिएका सेवा सुविधा प्रभावकारी बनाउन जरुरी रहेको बताए। खानेपानी र सडक कार्यालय सबै जिल्लामा नहुँदा सेवा दिन र लिन समस्या भएको उनको भनाइ थियो। 

बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलको अनुपस्थितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले विधेयक स्वागतयोग्य रहेको बताए।  प्रदेशसभा सदस्य कमलराज श्रेष्ठ, भूमिश्वर चौधरीलगायतले दिगो शान्ति र समृद्धिका लागि सुशासन जरुरी रहेको बताएका थिए।
 

 Published Date: Thursday, 8th August 19:29:30 PM