सोमबार, चैत्र २४, २०७६

ओडारमा हराएका दुई मृत अवस्थामा फेला

धादिङ, माघ १८ : रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ देखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा मृत भेटिएका छन् ।

गोठाला जाँदा लगातारको हिमपातपछि ओढारभित्र बसेका थिए । त्यहीबेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ बिहीबार मृत भेटिएका हुन् ।

उनीहरुकाे खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि शव फेला पारेको सशस्त्र प्रहरी बल धादिङबेँसी गुल्म डिएसपी दर्शन गिरीले बताए । ओडारभित्र फसेका दुवैको ठूलो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।

उनीहरुकाे खोजीमा इन्स्पेक्टर लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यीय टोली जुटेको थियो । स्थानीयवासी र आफन्तले पनि खोजीमा प्रहरीलाई साथ दिएका थिए ।

पहिरोमा पुरिएका २६० भेडाबाख्रामध्ये चार भने जीवितै भेटिएका छन् । उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयका टोलीले जेनेरेटरको माध्यमबाट भाइब्रेसन गराई ढुङ्गा फुटाएको थियो ।

 Published Date: Friday, 1st February 10:56:34 AM