सोमबार, असार २९, २०७७

विद्यालयद्वारा वृद्धाश्रमलाई सहयोग

भक्तपुर, माघ १२- आदर्श जनप्रेमी इङ्लिस सेकेण्डरी स्कुल कौशलटारले मानव कल्याण आश्रमले सञ्चालन गरेको वृद्धाश्रमलाई सहयोग सामग्री वितरण गरेको छ ।

वृद्धाश्रम सञ्चालनमा मासिक सहयोग गर्दै आइरहेको विद्यालयले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा सहयोग सामग्री वितरण गरेको हो ।

यस्तै वार्षिकोत्सवकै अवसरमा विद्यालयले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले मध्यपुरलाई शिक्षाको गन्तव्य बनाउने बताए ।

मेयर श्रेष्ठले सामुदायिक विद्यालयको स्तरोन्नति गर्नसंस्थागत विद्यालयहरूसँग सहकार्य गर्ने भन्दै आउँदो शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम पूर्ण रुपमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालयका प्राधानाध्यापक निलेश आचार्यले विद्यालयले हासिल गरेको उपलब्धि र भावी योजना बारे प्रकाश पारे ।

वार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथिले पुरस्कार वितरण गरे ।

कार्यक्रममा देशका सातै प्रदेशको सँस्कृति झल्किने झाँकीहरु प्रदर्शन गर्नुका साथै विद्यार्थीहरुले गीत, नृत्य समेत प्रदर्शन गरेका थिए ।

 Published Date: Sunday, 27th January 18:34:54 PM