सोमबार, असार २२, २०७७

वनभोजका लागि गोदामचौर

वनभोजका लागि गोदामचौर | तस्वीर:फाईल फोटो

काठमाडौं, माघ १० : ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौर सिमलको भिर क्षेत्र मन्दिर दर्शन तथा वनभोजका लागि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । आठ रोपनीमा फैलिएको यो क्षेत्रमा आन्तरिक पर्यटकको आवागमन बढेको हो । 

यो क्षेत्रमा ०६१ तिर ढुङ्गाखानी थियो । ठेकेदारले बेइमानी गर्न थालेपछि उनीहरुलाई हटाएर मनकामना मन्दिर निर्माण गरिएको मनकामना सुधार संरक्षण समितिका अध्यक्ष बुद्धिनाथ आचार्यले बताए । ‘एक त हरियाली वनपाखाले घेरिएको क्षेत्र, त्यसैमा वरपर विभिन्न देवीदेवताका मन्दिर दर्शन गर्न पाउने सुविधा हँुदा वनभोजका लागि आउनेको संख्या बढेको छ,’ उनले भने । शान्त वातावरण भएकाले वनभोजका लागि आउने गरेको उनको भनाइ छ । 

मन्दिर परिसरमा सप्ताह आयोजना गरी आर्थिक सहयोग जुटाइएको थियो । त्यही रकमबाट मन्दिरमा पित्तलको छानो हालिएको छ भने यो क्षेत्रलाई व्यवस्थित बनाइएको छ । गोेदामचौर सिमलको भिरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले सात लाख, सांसद विराज विष्टले सांसद कोषको दुई लाख र ललितपुर जिल्ला विकास समितिले १५ हजार सहयोग गरको अध्यक्ष आचार्यले बताए । यसका अतिरिक्त गोदावरी नगरपालिकाले व्यवस्थित वनभोज क्षेत्र निर्माण, संरक्षण र संवद्र्धनका लागि १० लाख सहयोग गरेको छ । अब मन्दिर वरपर तारजाली लगाउने र दुइटा शौचालय निर्माण गर्ने योजना अघि बढेको उनले बताए । 

समितिले बनभोजका लागि दुइटा स्थान छुट्याएको छ । चौरमा वनभोज गर्दा पाँच सय र जस्ताको छानोमुनि एक हजार पाँच सय शुल्क लिने गरिएको छ । 

गोदामचौर सिमलको भिरलाई स्थानीय बासिन्दाले विशङ्खु नारायणथानको पाउ भनेर पूज्ने गर्छन् । तीज, महाशिवरात्रि, कृष्णजन्माष्टमी, रामनवमी र सरस्वती पूजा समयमा मेला लाग्ने गर्छ । वनभोजस्थल नजिकै रमणीयस्थल फूल्चोकी, गोदावरी, ऐतिहासिक महारानीघाट नदी र एक सय आठ धार्मिककुण्ड छन् ।
 

 Published Date: Thursday, 17th January 17:01:26 PM