सोमबार, जेठ १९, २०७७

भूकम्पीडितबाट २३ करोड फिर्ता

काठमाडौं, फागुन २६ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पीडितबाट झण्डै २३ करोड रुपैयाँ फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका पीडितबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।

पहिले घर बनाउँन अनुदान रकम लगेका र तर घर नबनाएका लाभाहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले बताए । उनका अनुसार सरकारले एक पटक दिइसकेको पैसा फिर्ता लिँदैन भनेर पहिले अरु ठाउँमा घर भएका वा त्यहीँ घरमा बस्न मिल्ने हुँदाहुँदैका घरधनी लाभग्राही सूचीमा परेका थिए ।

अहिले घर नबनाउँदा रकम त्यतिकै लिन पाइँदैन भन्ने सोचेर फिर्ता गर्ने क्रम शुरु भएको उनको भनाइ छ । ‘घर बनाउन नचाहने वा आवश्यक नभएका लाभग्राही आफैँले जानेर फिर्ता गर्न थाल्नुभएको छ,’ उनले भने ।

कतिपय लाभग्राही भने भुलवश लाभग्राही सूचीमा परेको कार्यालयले जनाएको छ । उनका अनुसार जानेर वा नजानेर लाभग्राही बनेका लाभग्राहीको खोजी भइरहेको छ । सम्बन्धित व्यक्तिले आफू बसिरहेको पालिकामार्फत ‘यति नम्बर खातामा भएको लगतकट्टा गरिपाऊँ’ भन्दै निवेदन दिनुपर्ने उनले बताए ।

परियोजना प्रमुख वस्तीका अनुसार पालिकामार्फत जिल्ला आयोजना कार्यन्वयन एकाइ र त्यहाँबाट केन्द्रीय आयोजना कार्यन्यन एकाइ पुगेपछि लगतकट्टा हुन्छ । ‘नक्कली लाभग्राही पहिचान गरेर रकम फिर्ता गराउन स्थानीय तहको समेत सहयोग आवश्यक छ,’ उनले भने ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अहिलेसम्म देशभरमा लाभग्राही सूचीमा परेकाको कुल संख्या आठ लाख १२ हजार ३७१ रहेको छ ।

 Published Date: Sunday, 10th March 12:43:22 PM