सोमबार, असार २९, २०७७

पाठेघरको मुखको क्यान्सरविरुद्ध सचेतना

ललितपुर माघ १६ : पाठेघरको मुखको क्यान्सरविरुद्धको दिवस २०१९ को अवसरमा ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल प्रालिले बुधबार र्‍याली निकालेको छ ।

अल्का अस्पतालबाट शुरु भएको र्‍याली कुमारीपाटी, लगनखेल, पाटन, पुल्चोकहुँदै अल्का अस्पतालमा पुगेको थियो ।

सो अवसरमा जावलाखेल चोकमा स्त्रीरोग विशेषज्ञसहितको टोलीले महिलाहरुको निःशुल्क पाठेघर जाँच गरेको छ । पाठेघरको मुखको क्यान्सर भएको छ कि छैन भनेर प्याप स्मेयर (पाठेघरको मुखको पानी निकालेर) परीक्षण गरिएको डा. रंगीना शाहले बताइन् ।

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर हुने गरेको छ ।

यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राखेमा, सानो उमेरमा धेरै सन्तान जन्माएमा पनि यो क्यान्सर हुन सक्छ ।

डा.शाहका अनुसार २१ देखि ६० उमेरका विवाहित महिलाहरूले वर्षमा एक पटक पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर जाँच गर्नु पर्छ । यसले रोग रोकथाममा सघाउ पुग्ने डा. शाहको भनाइ छ ।

त्यस्तै पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि एचपिभी खोप लगाउनु पर्छ । विकसित देशहरूमा यो खोप लगाउन सरकारले नै खोप तालिकामा राख्ने गरेको छ ।

यहाँ पनि खोप तालिकामा राख्न चिकित्सकहरुले सरकारसँग आग्रह गरेका छन् । ११ देखि १३ वर्षका किशोरीहरूलाई यो खोप लगाउनु शुरु गर्नु पर्ने डा.शाहले बताइन् ।

 

 Published Date: Wednesday, 30th January 14:38:12 PM