सोमबार, जेठ १९, २०७७

सय वर्ष पुरानो कारागार जीर्ण

काठमाडौं, चैत १ : डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ।

यो कारागार वि.सं. १९६० को दशकमा निर्माण भएको थियो । ०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पनि क्षति पुगेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुइटा भवनमा कैदीबन्दी राखिँदै आएको छ।

डिल्लीबजार कारागारमा महिला कैदीबन्दी भने छैनन् । काठमाडौँ जिल्लामा केन्द्रीय कारागार जगन्नाथ देवल र डिल्लीबजार कारागार भएकाले महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमै राख्ने व्यवस्था गरिएको छ।

डिल्लीबजार कारागारका जेलर अरुण पोखरेल भूकम्पले क्षति पुगेको भवनलाई ‘रेट्रोफिटिङ’ गरेर सञ्चालनमा ल्याएको बताए । ‘थोरै जग्गामा धेरै कैदीबन्दी हुँदा समस्या परेको छ,’ उन भने, ‘उक्त जग्गामा कार्यालयदेखि प्रहरीसमेत राख्नुपर्ने बाध्यता छ।’

डिल्लीबजार कारागारमा अहिले ६ सय १२ कैदीबन्दीमध्ये पाँच सय ९३ स्वदेशी र १९ जना विदेशी छन् । धेरै कैदीबन्दीलाई एकै ठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामी समेत हुने गरेको जेलर पोखरेल बताए।

बिरामी कैदीबन्दीका लागि छुट्टै कोठा स्थापना गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । डिल्लीबजार कारागारमा बिरामी भएका कैदीबन्दीको उपचार भने केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलमा हुँदै आएको कारागारले जनाएको छ।

कैदीबन्दीमा छाला, मधुमेह, कमलपित्त, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका समस्या हुने समेत गरेको छ।

केन्द्रीय कारागार अस्पतालमा उपचार हुन नसकेका कैदीबन्दीलाई वीर अस्पताल, शहीद गङ्गालाल अस्पताल, मानसिक अस्पताललगायतमा उपचारका लागि पठाइँदै आएको कारागारले जनाएको छ।

तीन सय ५० कैदीबन्दी राख्न मिल्ने क्षमता कारागारको रहे पनि झण्डै दुईगुणा कैदीबन्दी छन् । डिल्लीबजार कारागारमा कैदीबन्दीको कामका लागि गलैँचा र फर्निचर उद्योग सञ्चालन गरिएको छ।

कारागार व्यवस्था विभागका सूचना अधिकारी कृष्णबहादुर कटुवालका अनुसार हाल मुलुकभर ७२ जिल्लामा ७४ कारागार रहेका छन्।

काठमाडौं र दाङमा दुई/दुई वटा कारागार रहेका छन् । काठमाडौंमा केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजार कारागार तथा दाङमा घोराही र तुलसीपुर दुई स्थानमा कारागार रहेको छ।

धनुषा, बारा र भक्तपुरमा अहिलेसम्म पनि कारागार छैन । नयाँ स्थापना भएका दुई जिल्ला नवलपरासी पश्चिम र रुकुम पश्चिममा पनि कारागार छैन । विभागका अनुसार हाल देशभर २१ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् । (रासस)

 Published Date: Friday, 15th March 12:58:39 PM