सोमबार, जेठ १९, २०७७

विपी कोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण हुने

| तस्वीर:फाइल फोटो

रत्ननगर, फागुन २६ : चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ ।

अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए र आरएनए परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेसिनन’ आएको हो । यो मेसिन आएसँगै डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको अस्पतालले जनाएको छ ।

यो उपकरणबाट एचपिभी १६ र १८ (ह्युमन प्यापिलोमा भाइरस) को संक्रमण हुने पाठेघर, मुख र लिङ्ग र रक्तक्यान्सरको स्क्रिनिङ गर्न सकिने जनाएको छ । यसअघि सारभाइकल क्यान्सरको नमुना पिसिआर ‘पोलिमर चेञ्ज रियाक्सन’को परीक्षण गर्न भारत पठाइने गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यका अनुसार उपकरणले क्यान्सर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने छ । ‘डिएन बेसको परीक्षणको सेवा शुरुआत गरिसकेका छौं,’ उनले भने, ‘आरएनएन बेस जटिल भएकाले केही समयपछि मात्रै सेवा शुरु गर्छौं । यो उपकरणले क्यान्सरको उपचार तथा रोकथाममा विशेष सहयोग पुग्नेछ ।’

पाठेघर, मुख, लिङ्ग र रक्तक्यान्सर हुनुपूर्व एचपिभी डिएनए र आरएनएको स्क्रिनिङ गर्न सकिए क्यान्सरको निर्मूलीकरण र रोकथाम गर्न सकिने अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा. सुदिना श्रेष्ठले बताइन् । उपकरणको प्रयोगले क्यान्सरको उपचार र रोकथामका क्षेत्रमा सहज हुने भएकाले क्यान्सरबाट हुने मृत्युदरमा कमी आउने उनको भनाइ थियो ।

क्यान्सर रोगीमा भएको एचपिभीको मात्र समयमै पत्ता लगाई खोप दिन सके यसको निदान हुन सकिने उनले बताइन । नेपालका ५० प्रतिशत क्यान्सर रोगीको उपचार गर्दै आइरहेको यस अस्पतालमा एचपिभी भाइरसबाट लाग्ने क्यान्सरका रोगीहरु ४० प्रतिशतभन्दा बढीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ । (रासस)

 Published Date: Sunday, 10th March 14:28:18 PM