बुधबार, साउन २१, २०७७

गुल्मी पहिरो : दुई बालबालिकाको मृत्यु, एक युवक वेपत्ता (अपडेट)

गुल्मी, असार १९ : अविरल वर्षासँगै आएको बाढी र पहिराका कारण गुल्मीमा दुई बालबालिकाको मृत्यु भएको छ भने एक युवक बेपत्ता भएका छन्।

गएराति आएको पहिरामा परी इस्मा गाउँपालिका–१ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।

त्यस्तै, पहिरोमा परी इस्मा–१ अन्तर्गत निस्ती ढाँडफाँटकी सात वर्षीया अपिच्छा खत्रीको पनि मृत्यु भएको स्थानीय व्यवसायी ऋषिराम अर्यालले बताए। पहिरामा परेर घाइते बनेकी बालिकाकी आमा ईश्वरीलाई स्थानीयवासीले ६ घन्टापछि आज बिहान जीवितै उद्धार गरेका छन्।

ढाँडफाँटमा गए राति बस्ती माथिबाट पहिरो खसेको थियो।  आमासँगै भाग्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव आज बिहान खोला किनारमा फेला परेको स्थानीय वासिन्दाले बताए।  

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटलसमेत बगाएको छ।  होटलमा बास बसेका मुसिकोट नगरपालिका–२ का भागीरथ घिमिरे वेपत्ता भएको स्थानीय रामबहादुर केसीले बताए।

पहिरोमा परि दुई जना घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको छ।

बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।  पानी परिरहेका कारण अहिले पनि पहिरो खस्नेक्रम जारी छ।

पहिराले सडक अवरुद्ध बनेका कारण घाइतेको उद्धारमा समस्या परेको स्थानीयवासीले बताएका छन्। घटनाको जानकारी पाएपछि आज बिहानै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए। (रासस)

 Published Date: Friday, 3rd July 12:24:37 PM