सोमबार, असार २९, २०७७

उदयपुर सिमेन्ट उद्योग पुन: घाटामा

गाईघाट, माघ २३ : केही समयदेखि नाफामा रहेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग पुनः घाटामा जान थालेको छ ।

डेढ वर्षदेखि विद्युत्भार कटौतीको अन्त्य भएपछि नाफामा गएको उदयपुरको जलजलेमा अवस्थित सो उद्योग अहिले फेरि विद्युत्भार कटौती शुरु भएसँगै सिमेन्ट उत्पादनमा कमी भई घाटामा गएको हो ।

पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युत्भार कटौती हुन थालेपछि तीन करोडभन्दा बढी घाटा व्यहोर्नुपरेको सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साह बताए ।

एक महीनाअघिसम्म दैनिक आठ सय मेट्रिक टन सिमेन्ट उत्पादन गरेको उद्योगले अहिले विद्युत्भार कटौती हुन थालेपछि दैनिक ६ सय ५० मेट्रिक टनसम्म मात्र उत्पादन गर्न सकेकाे छ । जसका कारण पुनःसिमेन्ट उद्योग घाटामा जान थालेको निमित्त महाप्रबन्धक साहले बताए ।

सिरहाकाे लहान-गाईघाटको विद्युत् लाइनको उद्योग क्षेत्रमा दैनिक विद्युत्भार कटौती हुन थालेको र सम्बन्धित निकायलाई पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि यसको समाधान नभएपछि उद्योगमा सिमेन्ट उत्पादनमा कमी आएकाे जनाएकाे छ ।

एक दिनमा पाँचपटकसम्म विद्युत्भार कटौती हुँदा सात लाखदेखि १० लाखभन्दा बढी घाटा हुने गरेको पनि उद्योग प्रशासनले बताएको छ । उद्योग स्थापनाकालदेखि घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले डेढ वर्षदेखि ५० करोडभन्दा बढी नाफा गरेकाे थियाे ।

 Published Date: Wednesday, 6th February 14:40:37 PM