मंगलबार, साउन २७, २०७७

सम्मानको दियो कि अपमानको दीप?

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदारदास मोदी र हाम्रा प्रधानमन्त्री खड्गप्रसाद ओलीका सोच्ने शैली उस्तैउस्तै देखिँदा धेरैलाई आश्चर्य लागेको हुनसक्छ। मोदीले गरे झैं नेपालमा पनि अचानक, बिना तयारी लकडाउन गरियो । विश्व इतिहासको ठूलो मानव महासागर लकडाउनको पर्वाह नगरी भारतका विभिन्न सहरबाट गाउँतिर हिँड्यो । भारतमा विद्यमान गरिबी, शोषण र अव्यवस्था को दृश्य संसारको अघिल्तिर प्रदर्शन गर्न काफी थियो। 

नेपालमा पनि उसैगरी मजदुरहरुको लस्कर सयौं किलोमिटर दूरी पाइतालाले नाप्दै गाउँतिर हिँड्यो । यी दुवै प्रधानमन्त्रीको प्रतिकृया पनि आश्चर्यजनक ढंगले उस्तै थियो । दुवैले देखेको नदेख्यै गरिदिए।

त्यसो त मोदी र ओली दुवैले पश्चिमाहरुभन्दा पहिल्यै आफूहरुले पुष्पक विमान बनाएर उडाइसकेको दाबी समान तेवरमा गरेका थिए । कोरोना विश्वव्याधिसँग बच्ने उपायस्वरुप युरोप, अमेरिकाका नेताहरुले नमस्कार गरेको थाहा पाएपछि यी दुवै नेतालाई ‘नमस्कार’ आफ्नो ‘महान’ संस्कृति रहेछ भन्ने वोध पनि समान तरिकाले भएका थिए। 

केही हप्ताअघि मोदीले स्वास्थ्यकर्मीको सम्मानमा भन्दै देशव्यापी दीप प्रज्वलन गर्न लगाएका थिए । त्यो दीप प्रदर्शनले गरिब, सडकमा दयनीय अवस्थामा यात्रा गरिरहेका र अनेक लान्छाना लगाएर प्रताडित गरिएका भारतीय जनतालाई गिज्याएको भनेर आलोचना पनि भएकै हो । अहिले ओली सरकारले मोदीकै शैलीमा आज दीप प्रज्वलन गर्न आह्वान गरेको छ।

भारतसँग नेपालको व्यापार घाटा ६० प्रतिशत भन्दा धेरै छ । यसको अर्थ हो, हामी भारतसँग ६० प्रतिशत निर्भर छौं । अन्न, सागसब्जी, पेट्रोल लगायत तमाम सरसामान भारतबाटै आउँछन् । भित्रभित्रै खेलिने राजनीतिका अनेक खेल पनि उतैबाट आउँछ । स्वभाविकै हो, कोरोना भाइरस पनि उतैबाट धेरै आउनसक्छ । लाखौं नेपाली रोजगारी, बन्दव्यापार लगायतका निम्ति भारतमै बसोबास गर्छन् वा आवतजावत गर्छन्। 

जीवनरेखा जता धेरै जोडिन्छ, धेरैकुरा त्यही जीवनरेखाको बाटो भएर ओहोरदोहोर गर्नु अनौठो पनि होइन । तर जीवनरेखाको प्रवाह घनिष्ठ हुँदाहुँदै पनि दुवै मुलुकका आफ्नै सरकार र ती सरकारले नेतृत्व गर्ने जीवन पनि आफ्नै छ । दीप प्रज्वलनको नक्कल पनि उतैबाट गर्नुपर्ने हिसाबकिताब चैं व्यापार घाटाले पनि देखाउँदैन।

अझ दीप प्रज्वलनको नक्कल बरु ठिकै हुन्थ्यो, यदि यो संकटमा सरकारको प्रभावकारीता भिन्नै भैदिएको भए । मोदी सरकार पनि लकडाउन र विश्वव्याधी सामना गर्ने सवालमा अत्यन्त फितलो सावित भैसकेको छ। 

हाम्रो सरकारको त झन् कुरै के भो र, कानमा तेल हालेर कुत्सित राजनीतिक खेलमा लागेको छ । यो नक्कल विद्रुप र लज्जास्पद देखिन्छ भन्ने न्युनतम ज्ञान त हुनुपर्ने हो । तर अन्धनक्कलमा लागेको सरकारलाई कर्तव्यच्युत हुनुको लोकलाज पटक्कै महसुस हुँदैन। 

त्यसैले ऊ आज र आजै दीप प्रज्वलन गरेर देखाइदिने मुडमा छ । त्यसो त कहिले कविता र कहिले राष्ट्रगानमा झुमिरहने सरकारलाई मुलुकको वर्तमान र निकट भविश्यको संकटलाई संकटै नदेख्ने अद्भूत रोग लागेको छँदैछ।

स्वास्थ्य संकटको घडीमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गर्नु आफैंमा असल काम हो । यसमा फरक मत राखिरहनुपर्ने कुरा छैन । तर कहिलेकाहिँ एउटा सामान्य सत्य नै बडो विनाशकारी हुनसक्छ । किनभने त्यो सत्यलाई तत्कालिन परिस्थितिले फरक अर्थ दिइरहेको हुन्छ । हाम्रो आजको परिस्थितिको केही अंश विश्वव्याधीको कहरले निर्माण गरेको छ भने केही सरकार स्वयम्ले । सरकारले विश्वव्याधी सामना गर्न बनाएको उच्चस्तरीय समितिमा नै स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रका विज्ञहरु समावेश छैनन् । सरकारले महामारीको स्तर, प्रभाव र असरबारे कुनै आंकलन प्रस्तुत गरेको पनि छैन । तथ्य, तथ्यांक र आंकलनको अभावमा स्वास्थ्यकर्मीहरु अन्धकारमा भिडिरहेका छन्।

लकडाउन पैतालिस दिन नाघिसक्दा पनि सरकारले स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीलाई सुरक्षित पार्ने उपकरणहरु ल्याउन सकेको छ त ? छैन। लकडाउन अघि नै हातमा उपलब्ध समयलाई उपयोग गर्न सरकार जागरुक नदेखिनुमा ‘दालमेँ कुछ काला’ देखिँदैन त ? बिल्कुल देखिन्छ । स्वास्थ्यकर्मीहरुको जीवनरक्षा र प्रोत्साहनका निम्ति सरकारले कुनै कार्यक्रम वा मोडल ल्याएको छ त ? छैन । स्वास्थ्यकर्मीहरु घर, समाजमा नै एक्लिएको महसुस गर्छन् । उनीहरुको मनोबल बढाउन सरकारले पर्याप्त कदम चालेको छ त ? अहँ, बिल्कुल शुन्य। 

अस्पताल, स्वास्थ्यचौकी लगायतका ठाउँमा स्वास्थ्यकर्मी लगायत स्वास्थ्यक्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाल्ने कर्मीहरु कत्तिको उत्साहित वा कर्मठ देखिन्छन् त ? अहँ, देखिँदैनन्, बरु निरुत्साहित, हतोत्साहित छन्।

स्वास्थ्य पूर्वाधारमा उसै यो सरकारको समृद्धिवाला नाराले खासै ध्यान दिएको थिएन । स्वास्थ्यका केही ठूला व्यापारीका उद्योगधन्दालाई सम्बन्धन, कर छुट लगायत कामलाई ठूलो महत्व दिएको सरकारले जनसरोकारका स्वास्थ्य संस्थालाई बिल्कुल वास्ता गरेन । यो संकटमा पनि ऊ ओम्नी कम्पनीका गुणस्तरहिन सामान बेच्न जति कठिबद्ध देखिन्छ, त्यति खराब उपकरण र गुणस्तरहिन पिपिइका कारण स्वास्थ्यकर्मीकै जीवन संकटमा पर्नसक्ने कुरामा संवेदनशशील देखिँदैन। 

अझैसम्म पनि अस्पताल र स्वास्थ्यसंस्थाहरुमा पर्याप्त पिपिइ नै छैन, टेस्टिङ किट लगायतको त सर्वाथा अभाव छ । ओम्नीले ल्याएका सामान खपत गर्नकै लागि यो सरकारले संसारले खारेज गरेको टेस्टिङ प्रयोग गर्यो । कसैको कुरा सुन्न आवश्यकै ठानेन । यो परिस्थितिमा स्वास्थ्यकर्मीहरु उत्साहित होलान् कि त्रास र दुरुत्साहनमा काम गर्न बाध्य होलान्?

मुलुकमा उपलब्ध एक मात्र भाइरोलोजिस्ट डा. शेरबहादुर पुनलाई तेजोवध गरिएको घटना सेलाउन पाएकै छैन । बरु सरकारका ओम्नीप्रेमी गतिविधि र प्रधानमन्त्री ओली निर्मित राजनीतिक नौटंकीले दिनदिनै बल्झाइरहेको छ । ओम्नीले ल्याएका सामान सरकार आफैंले खारेज गरेको हो, तर त्यो उसले राजिखुसीले गरेको थिएन । बरु स्वास्थ्यकर्मीहरुले ओम्नीका सामान गुणस्तरहीन भएको तथ्य औंल्याएको भएर बाध्य हुनुपरेको थियो। 

त्यसैले प्रतिशोधस्वरुप डा. पुनलाई मन्त्रालय झिकाएर हप्काउने दाउ स्वास्थ्यमन्त्री स्वयम्ले गरे । यो घटना पनि सार्वजनिक भयो । सरकारको अभिभावकत्वमा हुनुपर्ने डाक्टर मिडियाको ओत लागेर जोगिनुपर्ने दुःखत स्थिति बन्यो । स्वास्थ्यसचिव यादव कोइरालाको अहंकारयुक्त कुरा सुनिसकेपछि डा. पुनको बाहनामा सबै स्वास्थ्यकर्मीको मुख थुन्न चाहन्छ भन्ने प्रष्टै भयो । यो स्वास्थ्यकर्मीको सम्मान हो कि अपमान?

सरकारी अधिकारीहरुले पिपिइ लगायत सुरक्षा सामग्री मागिरहेका स्वास्थ्यकर्मीहरुलाई तीन हप्ता अगाडि जागिरबाट निकाल्ने वा राजिनामा दिएर जान धम्की दिइरहेका थिए । 

जब अध्यादेशकाण्ड मार्फत प्रधानमन्त्री ओली स्वयम्ले आफ्नो प्रथामिकता महामारी होइन भन्ने प्रष्ट पारे, त्यसयता त सरकार फगत जागिरे जस्तो कुर्सी ओगटेर बसिरहेको छ । आफ्नो ऐतिहासिक र अपराधिक चरित्र छोप्न उसँग दियो बाल्नुबाहेक अरु विकल्प बाँकी छैन । महामारीको चरम संकटमा समेत दबाब, धम्की र असुरक्षाको उपहार दिने सरकारले स्वास्थ्यकर्मीलाई कस्तो सम्मान दिन्छ ? जनतलाई कस्तो सुरक्षा दिन्छ?

स्वास्थ्यकर्मीको सम्मान गर्ने हो भने जे आजसम्म गरिएको छैन त्यो अविलम्ब गर्नुपर्छ । उनीहरुको सुरक्षाको प्रबन्ध मात्र होइन, उल्लेख्य इन्सेन्टिभ थपिदिएर उत्साहित र प्रशंसित गर्नुपर्छ । मुख थुन्ने होइन, उनीहरुका गुनासा र आक्रोश पनि सुन्ने र समाधान गर्ने धैर्य देखाउनुपर्छ। 

उपकरणहरु उपलब्ध गराइदिएर सुरक्षित समाजको निर्माण गर्नुपर्छ । समाज नै सुरक्षित नभए, स्वास्थ्यकर्मीको मनोबल कसरी बलियो हुन्छ ? फिलहाल आफैंले निर्माण गरेको अराजकता, अव्यवस्था, अभाव र निरंकुश वातावरणमा दीप प्रज्वलनको नाटक गर्नु भनेको सम्मान होइन, अपमान हो । स्वास्थ्यकर्मीको पनि र जनताको पनि अपमान । फगत आफ्नो परपीडक चरित्रको तुष्टिका निम्ति अपमानको दीप प्रज्वलन गर्नु पनि एक अपराध नै हो।

 Published Date: Sunday, 10th May 12:09:57 PM