सोमबार, मंसिर ३०, २०७६

सी भ्रमणपछिको हाम्रो बाटो

हाेटल साेल्टीमा आयाेजित रात्रीभाेजमा चियर्स गर्दै दुई राष्ट्रपति । | तस्वीर:काठमाडौं प्रेस

‘म प्रायः भन्ने गर्दछु– हामीले बनाएका योजनाहरूलाई पूरा गरेरै छाडौँ । हामीले चीनमा पनि यस्तै गरेका छौँ ।’ 

चीनियाँ राष्ट्रपति सी चिनफिङले होटल सोल्टीमा आयोजित रात्रीभोजलाई गरेको सम्बोधनको उक्त अंशले नेपालभित्र सबैभन्दा चर्चा पाएको छ । नेपाली पक्षको फितलो कार्यान्वयन क्षमताको सन्दर्भमा उक्त टिप्पणीलाई लिएर सबैले नेपाली नेताको अनुहारतिर एकपटक पुलुक्क हेरेका छन् । शायद्, उनीहरूलाई लज्जाबोध होस् भनेर । 

राष्ट्रपति सीको उक्त टिप्पणी विकासका गफ गर्ने तर त्यसलाई योजना बनाएर पूरा गर्ने क्षमता नदेखाउने नेपाली नेताहरूका लागि त यो छँदै थियो, त्यससँगै नेपालसँग सहकार्य गरिरहेका विशेष गरी पश्चिमेली राष्ट्रतर्फ पनि उत्तिकै लागू हुन्थ्यो । सधैँ सहयोगको प्रतिबद्धता जनाउने तर प्रतिफल जनतामा पुग्ने गरी त्यसलाई समयमा पूरा नगर्ने विकास साझेदारको अनुहारमा पनि हामीले एक नजर लगाउनु राष्ट्रपति सीको भ्रमणका सन्दर्भमा आवश्यक छ । 

चीनियाँ राष्ट्रपति सी नेपालमा करिब २२ घण्टा बिताएर फर्किएको दुई दिन बितेको छ तर यो भ्रमणका उपलब्धिबारे यहाँ बहस जारी छ । यदि यो भ्रमणका क्रममा भएका दुई सम्झौता र १८ समझदारी कार्यान्वयन भयो भने यो भ्रमणको प्रभाव नेपालमा सदियौं रहिरहने छ । १४ बुँदे संयुक्त वक्तव्यमा प्राथमिकतासाथ उल्लेख गरिएको केरुङ–काठमाडौं जोड्न काठमाडौंको टोखा–छहरे र रसुवाको बेत्रावती–स्याफ्रुबेंसी सुरुङमार्ग र केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययनले नेपालीलाई आशावादी बनाएको छ ।

उत्तरको छिमेकी राष्ट्र चीनका राष्ट्रपति सीको भ्रमणलाई उनका समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल–चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको’ मूल्याङ्कन गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सी भ्रमणले ‘दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको’ बताएका छन् । आखिर नयाँ उचाइ कसरी त भन्ने प्रश्नको जवाफ संयुक्त वक्तव्यमा उल्लेख भएको उक्त कुराले प्रष्टसँग दिएको कूटनीतिका जानकारहरू बताउँछन् । 

सी भ्रमणमा नेपाल–चीन स्थायी मित्रताको घोषणाको कूटनीतिक मूल्य शायद् अंकमा उल्लेख गर्न सकिँदैन । संयुक्त वक्तव्यको पहिलो नम्बरमै नेपाल–चीन सम्बन्ध विगतको ‘कम्प्रिहेन्सिभ पार्टनरसिप अफ को–अपरेसन’ बाट अघि बढेर ‘स्ट्राटेजिक पार्टनरसिप अफ को–अपरेसन’ मा बदलिएको उल्लेख छ । शायद् यसले पनि देखाउँछ– सम्बन्ध नयाँ युगमा प्रवेश । यो केही समयअघि अमेरिकाले नेपालले ‘इण्डो–प्यासिफिक रणनीति’ मा सहमति जनाएको भनी सार्वजनिक गरेको विषयलाई ‘काउन्टर’ दिन चीनले नेपाल आफ्नो कित्तामा उभिएको प्रष्ट घोषणा गरेको पनि हुनसक्छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका डा. केशव वस्यालको विश्लेषण छ, ‘बीआरआई विशुद्ध विकाससँग सम्बन्धित छ । यसमा इण्डो–प्यासिफिक रणनीतिमा जस्तो सेना र सुरक्षा यससँग जोजिएको छैन । तर, नेपाल–चीन सम्बन्ध ‘स्ट्राटेजिक पार्टनरसिप अफ को–अपरेसन’को चरणमा प्रवेश गरेको भन्नु नेपाल बीआरआईतिर लाग्यो भन्ने सन्देश दिन खोजिएको हो ।’ यसबाहेक राष्ट्रपति सीले ५६ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोगको घोषणा पनि गरे । सी भ्रमणले ओली सरकारका आलोचकलाई एक हदसम्म जवाफ पनि दिएको छ । 

समृद्ध चीन र बीआरआई रणनीति

लामो समय ‘बन्द प्रणाली’ अपनाएर ‘खुल्लाबजार अर्थतन्त्र’ मा प्रवेश गरेको चीन विकासको पथमा तीव्र अघि बढेको छ । संसारको सबैभन्दा धेरै एक अर्ब ४० करोड जनसंख्या, दोस्रो ठूलो अर्थतन्त्र बनेको हिमालपारिको चीनले विगत चार दशकमा गरेको उन्नतिले संसारलाई चकित पारेको छ । 

सन् १९७८ मा देङ सियाओपिङ कम्युनिष्ट पार्टीको सर्वोच्च नेता भएपछि चीनले खुला अर्थनीति अपनाएको हो । त्यसबेला प्रतिव्यक्ति आय २५० अमेरिकी डलर बराबर भएको चीन त्यसको ४० वर्षपछि गत डिसेम्बरमा ९७७६.३७५ अमेरिकी डलर पुगेको छ । अहिले त्यहाँको प्रतिव्यक्ति आय १० हजार अमेरिकी डलर नाघेको छ । चीन विश्वको सबैभन्दा धनी मुलुक बन्दैछ भन्ने भविष्यवाणी हुन थालेको छ । 

अध्यक्ष माओको सन् १९७६ मा मृत्यु भएको दुई वर्षपछि देङ सियाओपिङ सर्वोच्च नेता भए । सन् १९८९ देखि २००२ सम्म तेस्रोपुस्ताको रूपमा राष्ट्रपति जियाङ जमिन र प्रधानमन्त्री झु रोङझी बने । २००२ देखि २०१२ सम्म हु जिन्ताओ र बेन जियाओ वाऊको नेतृत्वमा चीनले राजनीतिक र आर्थिक रुपमा नयाँ फड्को मार्‍यो । 

सन् २०१३ देखि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सी जिनपिङले गर्दै आएका छन् । दोस्रो कार्यकाल सुरु हुँदा उनी माओ र देङपछि यत्ति शक्तिशाली नेता बने, जसको नाम त्यहाँको राष्ट्रिय गानमा समावेश भयो । आधुनिक चीनलाई आर्थिक महाशक्ति बनाउने उनले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) अवधारणा अघि सारे जसलाई अहिले सी–विचारधारा भन्ने गरिएको छ । चीनलाई महाशक्ति बनाउने मार्गका रूपमा सीले बीआरआईलाई अघि सारेका छन्, यद्यपि यो विकास अभियान मात्र हो, यसमा सैन्य–सम्बन्ध जोडिँदैन । 

सन् २०१३ पछि सर्वोच्च चिनियाँ नेताका रूपमा उदाए– सीपीसीका महासचिव एवम् वर्तमान राष्ट्रपति सी जिङपिङ। उनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) बारे अहिले संसारभरिका विश्वविद्यालय र राजनीतिक दलहरूभित्र बहस र छलफल भइरहेको छ। छिमेकी भारत र विभिन्न क्रिश्चियन संघ–संस्थासँग पनि चिनियाँहरूले बीआरआईबारे छलफल जारी छन्। 

अमेरिकाले अघि सारेको ‘इण्डो प्यासिफिक रणनीति’लाई चुनौती दिन चीनले बीआरआई अघि सारेको बुझाइ संसारभर छ । सीको बीआरआई रणनीति करिब दुई हजार वर्षपुरानो रेशममार्गलार्ई दुई हजार वर्षपछि नयाँरुपमा ब्युँताउने प्रयास हो । नेकपा स्थायी कमिटी सदस्य एवम् माक्र्सवादी चिन्तक घनश्याम भुसालका अनुसार, बीआरआई रणनीति इतिहासकै सबैभन्दा महत्वकाङ्क्षी विकासको अन्तर्राष्ट्रिय योजना हो, जसले विभिन्न राजनीतिक प्रणाली अपनाएका एसिया, अफ्रिका र युरोप गरी करिब ७० देश र ती देशमा बसोबास गर्ने विश्वको ६२ प्रतिशत जनसंख्यालाई जोड्ने छ । विशेष गरी अमेरिकाले नेतृत्व गरेको ‘इण्डो प्यासिफिक’ रणनीतिको समानान्तर प्रयासका रुपमा बीआरआईलाई बुझ्ने गरिएको छ । 

भ्रमणको संस्कृति दोहोरो

नेपालका राष्ट्रप्रमुख÷प्रधानमन्त्रीहरूले चीनको भ्रमण गर्नु र चीनियाँ नेताहरूले नेपालको भ्रमण गर्नु सामान्य शिष्टाचारको विषय हो तर पनि चीनियाँ सर्वोच्च नेताले नेपाल भ्रमण गरेको चाहिँ यो तेस्रो पटक मात्र हो । सन् १९७८ मा चीनियाँ सर्वोच्च नेता देङ सियाओपिङले नेपाल भ्रमण गरेका थिए, यो भ्रमण उनी उप–प्रधानमन्त्री मात्र थिए । त्यसपछि सोही वर्ष देङ सर्वोच्च नेता भए । देङ सर्वोच्च नेता भएकै बेला तत्कालीन चीनिया राष्ट्रपति ली जियाननिनले सन् १९८४ मा नेपाल आएका थिए । चीनियाँ राष्ट्रपतिको तेस्रो नेपाल भ्रमण चाहिँ २३ वर्षपछि मात्र भएको हो । यसअघि सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए । 

राष्ट्रपति जियाङ जमिनको भ्रमणपछिका २३ वर्षबीचमा पनि चीनका दुई जना प्रधानमन्त्रीले नेपाल भ्रमण गरिसकेका छन् । तत्कालीन प्रधानमन्त्रीहरू झु रोङ्गजीले सन् २००१ मा र वेन जियावाओले सन् २०१२ मा नेपाल भ्रमण गरेका गरिसकेका छन् । 

त्यसो त अध्यक्ष माओले नेपाल भ्रमण नगरे पनि उनी सर्वोच्च नेता हुँदाका प्रधानमन्त्री चाओ एनलाईले सन् १९५७ र ०६० मा दुई पटक नेपालको भ्रमण गरेका थिए । देङ नेपाल आएको तीन वर्षपछि नै प्रधानमन्त्री चाउ जियाङ पनि सन् १९८१ मा नेपाल आएका थिए । त्यसपछि सन् १९८९ मा तत्कालीन प्रधानमन्त्री लि फङ नेपाल आएका थिए ।

त्यसो त नेपालका प्रधानमन्त्री टंकप्रसाद आचार्यले सन् १९५६ मा पहिलोपटक चीन भ्रमण गरे । पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सन् १०६० मा चीन गएका थिए । त्यसको अर्को वर्ष राजा महेन्द्रले पनि चीनको भ्रमण गरे । ३० वर्ष राजा भएका वीरेन्द्रले छ पटक चीन भ्रमण गरे भने उनको वंशनाश भएपछि राजा भएर सत्ता हत्याएका ज्ञानेन्द्र शाह पनि दुई पटक चीन गएका थिए । पछिल्लो समय राष्ट्रपति र प्रधानमन्त्री हुनेबित्तिकै चीन जाने परम्परा नै बनिसकेको छ ।

चीनियाँ र नेपाली राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको यत्ति बाक्लै भ्रमण हुने गरेको भए पनि राष्ट्रपति सीको भ्रमणको चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बढी नै भएको छ । नेपालको भूराजनीतिक संवेदनशीलताका कारण पनि बढी चर्चा भएको हो, जुन स्वाभाविक छ ।

त्यसो त संसारको पहिलो अर्थतन्त्र बन्ने महत्वाकांक्षी लक्ष्य घोषणा र चीनले अघि सारेको बीआरआई हो, जो पश्चिमको लागि चुनौती हो । त्यसमाथि कम्युनिष्ट राज्यसत्ता भएको चीनका राष्ट्रपति सीको भ्रमण नेपालमा चुनावबाट भारी बहुमतसहित सत्तासीन कम्युनिष्ट पार्टीको सरकार भएको बेला भएको छ । अनि नेपालले बीआरआईमा हस्ताक्षर पनि यसअघि नै गरिसकेको छ । भारतबाट नेपाल आएका भए पनि राष्ट्रपति सीको भ्रमण भारतभन्दा नेपालले चर्चा पाएको छ। 

अबको बाटो 
चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्की राष्ट्रपति सीको नेपाल भ्रमणमा ‘गजबै–गजब’ मात्र भएको मूल्यांकन गर्छन् । उनी यसमा टीका–टिप्पणी गर्ने विषय नै नरहेको बताउँछन् । ‘भारत र चीनले सम्बन्धमा विचार नचाहिने, नेपाल–चीन सम्बन्ध चाहिँ कम्युनिष्ट विचारको आँखाले हेर्नु पूर्वाग्रह हो’, उनले भने, ‘अमेरिका र भारतसँग पनि सम्बन्ध राख्नुपर्छ भन्ने मत पनि आएको छ । चीनको सन्दर्भमा यो धारणा आउनु भनेको शीतयुद्धकालीन धङ्धङीबाट मुक्त हुन नसक्नु हो ।’

चीनियाँ राष्ट्रपति सीको भ्रमण गराउनसक्नु प्रधानमन्त्री केपी शर्मा ओलीको सफलता हो । यसले नेपाल–चीन सम्बन्धलाई मजबुत बनाएको छ । नेपाल सरकारले अहिलेसम्म कानून बनाउने र संघीय प्रणाली संस्थागत गर्ने भन्दै करिब डेढ वर्ष गुजारी सकेको छ । अब चीनसँग भएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्नुको विकल्प छैन । चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयन गर्ने ‘एक्सन प्लान’ बनाउनुपर्छ । राष्ट्रपति सीले सोल्टीमा गरेको सम्बोधनमा भनेको उद्गारलाई सधैँ पछ्याउनुपर्छ । भोलिका दिनमा नेपाली नेताले पनि अन्तर्राष्ट्रिय मञ्चमा यस्तो धाक दिनसक्ने अवस्था आओस्, ‘हामीले बनाएका योजनाहरूलाई पूरा गरौँ, हामीले नेपालमा पनि यस्तै गरेका छौँ ।’

 Published Date: Friday, 25th October 12:40:47 PM