मंगलबार, जेठ ७, २०७६

पोर्न र पब्जी : प्रतिबन्ध होइन, नियमन

पोर्नमाथि प्रतिबन्ध लगाएको ६ महिनापछि सरकारले पब्जीमाथि पनि प्रतिबन्ध लगाउँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरेनट सेवा प्रदायकहरूलाई पब्जी बन्द गर्न निर्देशन दिइसकेको छ । पब्जी प्रतिबन्धित हुँदा अभिभावकहरू प्रशन्न देखिन्छन् । कतिले अब टिकटक पनि बन्द गर्नुपर्ने प्रतिक्रिया दिएका छन्।

तर, पब्जी प्रतिबन्ध सरकारको अविवेकी, अव्यवहारिक र असङ्गत कदम हो । यो व्यक्तिगत स्वतन्त्रताको हनन हो । लोकतन्त्रविरोधी कदम हो । र, हो– सर्वसत्तावादको पूर्वाभास।

सरकारले आखिर किन पब्जीमाथि प्रतिबन्ध लगाउँदैछ ? बालबालिकाको पढाइ बिग्रियो भनेर ? बालबालिका हिंस्रक भए भनेर ? पब्जी खेल्ने बालबालिका वास्तविक दुनियाँमा पनि मान्छे मार्दै हिँड्न थाल्छन् भनेर ? मैले बुझ्न सकिनँ।

मैले कतै पढेँ– पब्जीले बालबालिकाको मति बिगार्छ, तिनलाई हिंस्रक बनाउँछ भनेर सरकार यो गेम बन्द गर्ने निष्कर्षमा पुग्यो । तर, सरकारलाई कुन मनोवैज्ञानिकले यस्तो ज्ञान दियो ? जुन मनोवैज्ञानिकसँग सल्लाह गरेर सरकारले यस्तो निर्णय गरेको हो, म उसलाई सोध्न चाहन्छु– तिमीले यस विषयमा कहिले, कहाँ र कोसँग अनुसन्धान गर्‍यौँ ? के हो तिम्रो ठोस निष्कर्ष?

पब्जी बालबालिकाका लागि हानिकारक हुन्छ भन्ने तर्क अविश्वसनीय छैन । तर, के पब्जी वयस्क वा वृद्धका लागि पनि हानिकारक हुन्छ त ? हुन्छ भने कसरी हुन्छ ? कुन मनोवैज्ञानिकले यस विषयमा कहाँ अनुसन्धान गर्‍यो?

म एक वयस्क हुँ । अहिले ४२ वर्षको भएँ । मैले पनि पब्जी खेल्न नपाउने ? बालबालिकाका लागि पब्जी हानिकारक हुन्छ भन्दैमा हामीजस्ता वयस्कलाई पनि यो गेम खेल्न नदिने ? म र मजस्ता वयस्कलाई पब्जी खेल्न नदिइने हो भने सरकारले सप्रमाण भन्न सक्नुपर्छ– यो गेम बालबालिकाका लागि मात्रै होइन, वयस्कका लागि पनि घातक छ।

गेमिङ त मनोरञ्जनको एउटा स्रोत हो, ट्रेकिङ जस्तै । कसैलाई ट्रेकिङमा आनन्द आउँला, कसैलाई गेमिङमा । गेम गेल्नु भनेको ट्रेकिङ जानु जस्तै हो । लुम्बिनी वा सौराहा घुम्न गए जस्तै हो । यो व्यक्तिगत स्वतन्त्रताको विषय पनि हो।

बालबालिकाका लागि पब्जी घातक हुँदो रहेछ भने तिनलाई यो गेमबाट टाढै राख्न सक्नु पर्‍यो । अमेरिकाले १६ वर्ष नपुगेका बालबालिकालाई पब्जी खेल्न दिन्न । नेपालमा त्यस्तै नियम बनाउन सकिन्छ । १६ को सट्टा १७ वा १८ लाई पब्जी खेल्न पाउने न्यूनतम उमेर तोक्न सकिन्छ।

गेमिङ त मनोरञ्जनको एउटा स्रोत हो, ट्रेकिङ जस्तै । कसैलाई ट्रेकिङमा आनन्द आउँला, कसैलाई गेमिङमा । गेम गेल्नु भनेको ट्रेकिङ जानु जस्तै हो । लुम्बिनी वा सौराहा घुम्न गए जस्तै हो । यो व्यक्तिगत स्वतन्त्रताको विषय पनि हो।

न्यूनतम उमेर नपुगेका बालबालिकाले पब्जी खेले भन्दैमा यो गेम नै बन्द गर्नु विवेकी कदम हुन सक्तैन। म आफैं पनि कुनै बेला मोबाइल गेमको लतमा थिएँ। दैनिक १६ घण्टासम्म निरन्तर गेम खेल्थेँ। तर मैले आफूलाई सम्हालेँ। मजस्तै अरुले पनि आफूलाई सम्हाल्न सक्छन् । बालबालिकाले आफूलाई सम्हाल्न नसक्लान् । तिनलाई अभिभावकले मद्दत गर्ने हो । यो लालनपालनसँग जोडिएको विषय हो।

गेम एडिक्सनकै कुरा गर्ने हो भने यहाँ फेसबुकको पनि एडिक्सन छ । धेरै मानिसहरू घण्टौं फेसबुककै संसारमा हराइरहेका हुन्छन् । अब के फेसबुक पनि बन्द गरिदिने ? कतिपयले फेसबुकमा फेक न्यूज राख्छन् । अब फेक न्यूज राख्नेलाई कारबाही गर्ने कि फेसबुक नै बन्द गरिदिने?

केही महिनाअघि केही पोर्न वेबसाइटहरू बन्द गर्दा सरकारको तर्क थियो– पोर्नले बलात्कार बढाउँछ । पोर्नमाथि प्रतिबन्ध लगाएको ६ महिना बितिसक्यो । के अचेल बलात्कारका घटनाहरू हुँदैनन् त ? पोर्न हेर्नेहरू बलात्कारी बन्ने भए पोर्नले कानूनी मान्यता पाएको अमेरिकाजस्ता देशमा त प्रायः सबै बलात्कारी बन्थे होलान्।

पोर्न हेर्नेले बलात्कार गर्छ वा पब्जी गेममा मान्छे मार्नेले वास्तविक दुनियाँमा पनि मान्छे मार्छ भन्नु तर्क होइन, कुतर्क हो । हामी फिल्म हेर्छौं, जहाँ हत्याका दृश्यहरू पनि देखाइन्छन् । फिल्ममा हुने हत्या देखेर हामी पनि हत्या गर्न उद्दत हुन्छौँ त?